२५औँ वर्षमा एससीओ : बिस्केक शिखर सम्मेलनअघि सी चिनफिङको तीव्र कूटनीति

ड्रागन मिडिया समाचार कक्ष
शाङहाई सहयोग संगठन (एससीओ) स्थापनाको २५औँ वर्षमा प्रवेश गरिरहेका बेला किर्गिस्तानको राजधानी बिस्केक क्षेत्रीय तथा बहुपक्षीय कूटनीतिक गतिविधिको केन्द्र बनेको छ। एससीओ शिखर सम्मेलनमा सहभागी हुन आइतबार बिस्केक पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्मेलनअघि रुस, उज्बेकिस्तान, मंगोलिया तथा आयोजक किर्गिस्तानका राष्ट्रपतिसँग उच्चस्तरीय वार्ता गरेका छन्।
सीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उज्बेक राष्ट्रपति शाभकत मिर्जियोयेभ र मंगोलियाली राष्ट्रपति उख्नागिन खुरेलसुखसँग छुट्टाछुट्टै भेटवार्ता गरे। यसअघि उनले किर्गिस्तानी राष्ट्रपति सदिर जापारोभसँग विस्तृत वार्ता गर्दै दुई देशबीच स्थायी असल छिमेकी सम्बन्ध, मित्रता तथा सहयोगसम्बन्धी सन्धिमा हस्ताक्षर गरेका थिए।
बिस्केकमा भइरहेका यी द्विपक्षीय वार्ताले एससीओजस्ता बहुपक्षीय मञ्च र सदस्य राष्ट्रबीचका द्विपक्षीय सम्बन्ध एकअर्काका पूरक बन्दै गएको संकेत गरेका छन्। चीनले व्यापार, यातायात सम्पर्क, ऊर्जा, डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता तथा क्षेत्रीय सुरक्षालाई एससीओ सहकार्यका नयाँ आधारका रूपमा अघि बढाउन जोड दिएको छ।
सन् २००१ मा चीन, रुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान गरी छ देशबाट स्थापना भएको एससीओमा अहिले १० सदस्य राष्ट्र छन्। भारत, पाकिस्तान, इरान र बेलारुस क्रमशः पूर्ण सदस्य बनेपछि संगठनको भौगोलिक तथा राजनीतिक पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ।
एससीओअन्तर्गतका मुलुकको संयुक्त जनसंख्या ३.४ अर्बभन्दा बढी छ। संगठनले राजनीतिक तथा सुरक्षा सहकार्यबाट शुरु गरेको यात्रा अहिले व्यापार, लगानी, ऊर्जा, यातायात, डिजिटल प्रविधि, वातावरण, शिक्षा तथा जनस्तरीय सम्बन्धसम्म विस्तार गरेको छ।
एससीओको मूल अवधारणा ‘शाङहाई भावना’ पारस्परिक विश्वास, पारस्परिक लाभ, समानता, परामर्श, सभ्यताको विविधताप्रति सम्मान र साझा विकासमा आधारित छ। संगठनले आफूलाई सैन्य गठबन्धनका रूपमा नभई विभिन्न राजनीतिक तथा आर्थिक प्रणाली भएका मुलुकबीच सहकार्य गर्ने बहुपक्षीय मञ्चका रूपमा प्रस्तुत गर्दै आएको छ।
गत वर्ष चीनको थियानचिनमा भएको एससीओ शिखर सम्मेलनले संगठनको भावी दिशाका लागि सन् २०२६ देखि २०३५ सम्मको विकास रणनीति अघि बढाएको थियो। सोही सम्मेलनबाट इच्छुक सदस्य राष्ट्रको सहभागितामा एससीओ विकास बैंक स्थापना गर्ने राजनीतिक सहमति बनेपछि त्यसको संरचना र सञ्चालनबारे परामर्श जारी छ।
आर्थिक क्षेत्रमा चीन र अन्य एससीओ सदस्यबीचको व्यापार तीव्र रूपमा बढेको छ। सन् २००१ मा १२.१ अर्ब अमेरिकी डलर रहेको व्यापार सन् २०२५ मा ५२३.५ अर्ब डलर पुगेको छ। यो चीनको कुल वैदेशिक व्यापारको करिब आठ प्रतिशत हो।
चीनले सन् २०२५ मा अन्य एससीओ सदस्य राष्ट्रमा तेल तथा ग्यास, खानी, पूर्वाधार, नयाँ ऊर्जा, सवारीसाधन तथा रासायनिक उद्योगलगायत क्षेत्रमा ३.३ अर्ब अमेरिकी डलर प्रत्यक्ष लगानी गरेको थियो। विद्युतीय सवारीसाधन, लिथियम ब्याट्री, सौर्य उपकरण र सीमापार विद्युतीय व्यापार पनि नयाँ सहकार्यका क्षेत्रका रूपमा विस्तार भइरहेका छन्।
एससीओ सहकार्यको प्रभाव सम्मेलन आयोजना भइरहेको बिस्केकमै देखिएको छ। चीनमा निर्मित १२० विद्युतीय बस अहिले शहरका आठ प्रमुख मार्गमा सञ्चालन भइरहेका छन्। यी बसले शिखर सम्मेलनका सहभागीको यातायात व्यवस्थापनमा समेत सहयोग गरिरहेका छन्।
बिस्केकमा चिनियाँ लगानी तथा प्रविधिमा निर्माण गरिएको फोहोरबाट विद्युत उत्पादन गर्ने आयोजना पनि सन् २०२५ डिसेम्बरदेखि सञ्चालनमा आएको छ। यसलाई किर्गिस्तान मात्र नभई मध्य एसियाकै पहिलो फोहोरबाट ऊर्जा उत्पादन गर्ने विद्युत केन्द्रका रूपमा प्रस्तुत गरिएको छ।
सी र पुटिनबीचको सोमबारको वार्तामा पनि एससीओको भविष्य महत्वपूर्ण विषय बनेको थियो। सीले विश्वमा अनिश्चितता बढिरहेको अवस्थामा एससीओले क्षेत्रीय स्थिरता र विकास प्रवर्द्धन गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको बताए। पुटिनले चीनसँग व्यापार, ऊर्जा, उद्योग, यातायात, विज्ञान तथा प्रविधि र जनस्तरीय सहकार्य थप विस्तार गर्ने रुसी प्रतिबद्धता दोहोर्याए।
उज्बेक राष्ट्रपति मिर्जियोयेभसँगको भेटमा सीले चीन–उज्बेकिस्तान व्यापक रणनीतिक साझेदारीको नयाँ ‘स्वर्णिम दशक’ निर्माण गर्न चाहेको बताए। मंगोलियाली राष्ट्रपति खुरेलसुखसँगको वार्तामा व्यापार, यातायात सम्पर्क, ऊर्जा, खनिज, हरित विकास, कृत्रिम बुद्धिमत्ता र डिजिटल अर्थतन्त्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
२५ वर्षको यात्रापछि एससीओ अहिले केवल मध्य एसियाको सुरक्षा संरचनामा सीमित छैन। यसको कार्यक्षेत्र अर्थतन्त्र, पूर्वाधार, प्रविधि र विकाससम्म विस्तार हुँदै गएको छ।
बिस्केक शिखर सम्मेलनले अब विगतका राजनीतिक सहमति र रणनीतिलाई कति प्रभावकारी रूपमा ठोस परियोजना, वित्तीय संयन्त्र र क्षेत्रीय सम्पर्कमा रूपान्तरण गर्न सक्छ भन्ने विषय एससीओको आगामी चरणका लागि महत्वपूर्ण हुने देखिएको छ।





