१७ भाद्र २०८३, बुधबार

केरुङ–रसुवा विपदबारे तथ्यहीन दुर्भावनापूर्ण अड्कलबाजी अस्वीकार्य : चीन

ड्रागन मिडिया समाचार कक्ष

चीनले केरुङ–रसुवा सीमाक्षेत्रमा आएको विनाशकारी लेदो बाढीको कारणबारे तथ्यगत आधारबिनाका दुर्भावनापूर्ण अड्कलबाजी अस्वीकार्य रहेको जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा केही विदेशी सञ्चारमाध्यममा विपदको कारणबारे आएका टिप्पणीप्रति प्रतिक्रिया दिँदै चीन र नेपालका विज्ञ तथा आधिकारिक निकायले घटनाको कारणबारे प्रारम्भिक मूल्यांकन गरिसकेको बताएका हुन्।

गुओका अनुसार उपलब्ध प्रारम्भिक विश्लेषणले नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको हिमनदी भत्काइबाट शक्तिशाली लेदो बाढी उत्पन्न भएको देखाएको छ।

उनले ठूलो मानवीय क्षति भएको विपदका बेला तथ्यमा आधारित नभएका दुर्भावनापूर्ण अनुमान तथा प्रचार स्वीकार गर्न नसकिने स्पष्ट पारे।

केरुङ–रसुवा सीमाक्षेत्रमा अगस्ट २६ मा आएको विनाशकारी विपदले नेपाल र चीन दुवैतर्फ ठूलो जनधनको क्षति पुर्‍याएको छ। चिनियाँ पक्षले यसलाई नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको आकस्मिक हिमनदी भत्काइपछि सिर्जित लेदो बाढीका रूपमा उल्लेख गर्दै आएको छ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार विपदपछि चीन र नेपालबीच खोज तथा उद्धार, सूचना आदानप्रदान र सम्भावित दोस्रो विपदको जोखिम न्यूनीकरणका विषयमा निरन्तर समन्वय भइरहेको छ।

चीनले नेपाललाई मौसम तथा जलसम्बन्धी तथ्यांक, प्रभावित क्षेत्रका भूउपग्रह तस्बिर तथा माथिल्लो क्षेत्रमा बनेको अवरोध तालसम्बन्धी पूर्वचेतावनी जानकारी उपलब्ध गराएको जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयले विपद प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य अझै तीव्र रूपमा जारी रहेको उल्लेख गर्दै चीनले घटनासम्बन्धी सूचना खुला, पारदर्शी र समयमै सार्वजनिक गरिरहेको जनाएको छ।

गुओले विपदको समयमा गलत सूचना फैलाउने वा घटनालाई राजनीतिक रूपमा व्याख्या गर्ने प्रयासभन्दा मानवीय उद्धार, राहत र तथ्यमा आधारित विश्लेषणलाई प्राथमिकता दिनुपर्ने चिनियाँ धारणा स्पष्ट पारेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button