१७ भाद्र २०८३, बुधबार

चीन–अमेरिका सम्बन्धमा संवादको नयाँ प्रयास, नानचिङमा युवा विद्वान र विज्ञ भेला

ड्रागन मिडिया समाचार कक्ष

चीन र अमेरिकाबीचको सम्बन्ध जटिल बन्दै गएको अन्तर्राष्ट्रिय परिस्थितिमा आपसी समझदारी, जनस्तरीय सम्पर्क तथा व्यावहारिक सहकार्य विस्तार गर्ने उद्देश्यले चीन, अमेरिका तथा अन्य मुलुकका करिब ५० युवा विद्वान र विज्ञ चीनको च्याङसु प्रान्तको राजधानी नानचिङमा भेला भएका छन्।

सोमबार आयोजित संवादको मुख्य विषय “भूआर्थिक परिदृश्यको पुनर्संरचना : मतभिन्नताको व्यवस्थापन र विश्वव्यापी विकासको प्रवर्द्धन” रहेको थियो। कार्यक्रममा विश्वव्यापीकरणमा भइरहेको परिवर्तन, औद्योगिक रूपान्तरण, प्रविधि शासन, चीन–अमेरिका रणनीतिक अन्तरक्रिया तथा क्षेत्रीय व्यवस्थाबारे छलफल भएको थियो।

चाइना इन्टरनेसनल कम्युनिकेसन्स ग्रुपका उपाध्यक्ष यु युनछ्वानले चीन–अमेरिका सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धमध्ये एक भएको उल्लेख गर्दै जनस्तरीय आदानप्रदान त्यस सम्बन्धको सामाजिक आधार भएको बताए।

उनले स्थिर र पूर्वानुमानयोग्य संवाद संयन्त्रमार्फत दुवै देशका बौद्धिक समुदायबीच सञ्चारको माध्यम खुला राख्नुपर्नेमा जोड दिए। मतभिन्नताबीच साझा आधार खोज्ने र तीव्र परिवर्तनको समयमा विवेकपूर्ण संवाद कायम राख्नु महत्वपूर्ण रहेको उनको भनाइ थियो।

युले यस्तो संवादले चिनियाँ र अमेरिकी नागरिकबीच पारस्परिक समझदारी बढाउन, गैरसरकारी सम्बन्ध सुदृढ गर्न तथा रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माणमा सहयोग पुर्‍याउन सक्ने बताए।

कार्टर सेन्टरको शान्ति कार्यक्रमअन्तर्गत शान्ति रणनीति तथा सञ्चालनका उपनिर्देशक क्रिस्टोफर हब्सले पनि जनस्तरीय संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

उनका अनुसार प्राज्ञिक क्षेत्र र नीति निर्माण तहका व्यक्तिलाई एउटै संवादमा ल्याउँदा फरक दृष्टिकोणलाई रचनात्मक रूपमा बुझ्न सहयोग पुग्छ। यस्तो प्रक्रियाले गलत बुझाइ कम गर्न र अनावश्यक द्वन्द्वबाट बच्नसमेत योगदान दिन सक्छ।

हब्सले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा चीन र अमेरिकाले प्रतिस्पर्धा र मतभिन्नताबीच पनि सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने आधार खोज्नुपर्ने धारणा राखे।

संवादमा सहभागी विद्वानहरूले विश्वव्यापी शक्ति संरचना तीव्र रूपमा परिवर्तन भइरहेको र चीन–अमेरिका सम्बन्ध थप जटिल बन्दै गएको बताएका छन्। जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ताको शासन तथा अन्य विश्वव्यापी चुनौती कुनै एक देशले मात्रै समाधान गर्न नसक्ने भएकाले विशेषगरी चीन र अमेरिकाबीच सहकार्य आवश्यक रहेको उनीहरूको निष्कर्ष थियो।

कार्यक्रम चीन–अमेरिका जनस्तरीय आदानप्रदान प्रवर्द्धनसम्बन्धी युवा संवादको तेस्रो संस्करण हो। युवा विद्वान तथा विज्ञलाई आफ्ना अनुसन्धान र व्यावसायिक अनुभवका आधारमा द्विपक्षीय तथा विश्वव्यापी विषयमा प्रत्यक्ष संवाद गराउने उद्देश्यले यो संयन्त्र स्थापना गरिएको हो।

चाइना इन्टरनेसनल कम्युनिकेसन्स ग्रुपअन्तर्गतको एकेडेमी अफ कन्टेम्पोररी चाइना एन्ड वर्ल्ड स्टडिज र अमेरिकाको कार्टर सेन्टरले सन् २०२४ मा संयुक्त रूपमा यो संवाद संयन्त्र सुरु गरेका थिए।

पछिल्ला वर्षमा व्यापार, प्रविधि, औद्योगिक नीति तथा रणनीतिक सुरक्षाका विषयमा चीन र अमेरिकाबीच प्रतिस्पर्धा बढिरहेको अवस्थामा यस्तो गैरसरकारी तथा प्राज्ञिक संवादलाई दुई देशबीच सञ्चारका वैकल्पिक माध्यम कायम राख्ने प्रयासका रूपमा हेरिएको छ।

आयोजकहरूको उद्देश्य राजनीतिक तथा रणनीतिक मतभिन्नता हुँदाहुँदै पनि युवा विज्ञ, अनुसन्धानकर्ता तथा नीति समुदायबीच निरन्तर सम्पर्क कायम गर्दै साझा हितका क्षेत्रमा व्यावहारिक सहकार्यको सम्भावना खोज्नु रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button