भोटेकोशी बाढीबारे छलफल गर्न आज पुनः सर्वदलीय बैठक

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्न आज पुनः सर्वदलीय बैठक बस्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशी बाढीपछिको समग्र अवस्था, बेपत्ता नागरिकको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा दीर्घकालीन पुनःस्थापनाका विषयमा विभिन्न राजनीतिक दलबीच छलफल हुनेछ।
खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने, प्रभावित नागरिकसम्म तत्काल राहत पुर्याउने र पुनःस्थापनाका लागि राजनीतिक दलबीच साझा समझदारी निर्माण गर्ने विषयलाई बैठकले प्राथमिकता दिने जनाइएको छ।
यसअघि पनि रास्वपाको आह्वानमा भदौ ११ गते भोटेकोशी बाढीको अवस्था र उद्धार तथा राहत व्यवस्थापनबारे सर्वदलीय बैठक बसेको थियो।
भोटेकोशी र त्रिशूली नदी करिडोरमा आएको बाढीबाट ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, राहत वितरण, विद्युत तथा सञ्चार सेवा पुनःस्थापना र दीर्घकालीन पुनःस्थापनाका काम जारी छन्।





