भोटेकोशी बाढीको प्रभाव साहित्यिक गतिविधिमा पनि, ‘सतीको श्राप’ वितरण रोकिएको लेखक रेग्मीको भनाइ

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधन र पूर्वाधारमा ठूलो क्षति पुर्याइरहेका बेला यसको प्रभाव सामाजिक तथा साहित्यिक गतिविधिमा समेत परेको लेखक मदन रेग्मीले बताएका छन्।
रेग्मीले सामाजिक सञ्जालमार्फत देशको ध्यान यतिबेला बाढीपीडितको खोज, उद्धार र राहतमा केन्द्रित भएकाले आफूले लेखेको ऐतिहासिक नाटक ‘सतीको श्राप’ समेत साथी तथा शुभेच्छुकसम्म पुर्याउन नसकेको उल्लेख गरेका छन्।
उनका अनुसार हालसम्म कवि द्वारिका श्रेष्ठ तथा उनकी श्रीमती वरिष्ठ कथाकार तथा उपन्यासकार जलेश्वरी श्रेष्ठलाई मात्रै मुस्किलले पुस्तक पठाउन सकेका छन्। सामान्य नाटकका रूपमा लेखिएको भए पनि साथीहरूले पढ्न रुचि देखाएको उनले उल्लेख गरेका छन्।
रेग्मीले भोटेकोशी बाढी र आफ्नो पुस्तकको विषयवस्तुबीच कुनै सम्बन्ध नरहेकोसमेत स्पष्ट पारेका छन्। नाटकमा रहेको एउटा धार्मिक पात्रले ‘सतीको श्राप देशलाई युगौँसम्म लागिरहने’ धारणा व्यक्त गरेको प्रसंग उल्लेख गर्दै उनले त्यसलाई वर्तमान प्राकृतिक विपदसँग जोडेर बुझ्न नहुने बताएका छन्।
करिब पाँच सय वर्षअघि सतीले दिएको भनिएको श्राप अहिले पनि कायम रहेको भन्ने विश्वास आफूले नगर्ने रेग्मीको भनाइ छ। उनले उक्त प्रसंग नाटकभित्रको एउटा पात्रको धारणा मात्र भएको स्पष्ट गरेका छन्।
‘सतीको श्राप’ ऐतिहासिक विषयवस्तुमा आधारित मदन रेग्मीको नाटक हो। यसको आवरणमा अग्निको प्रतीकात्मक प्रयोग गरिएको छ भने कृतिले ऐतिहासिक विश्वास, सामाजिक मनोविज्ञान र ‘सतीको श्राप’ सम्बन्धी नेपाली समाजमा लामो समयदेखि प्रचलित धारणालाई नाटकीय रूपमा प्रस्तुत गरेको देखिन्छ।





