ड्रोनले देखाएको एउटा शव पछ्याउँदा बेत्रावतीको घरमा भेटिए २४ शव

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोजी तथा उद्धारमा खटिएको नेपाल प्रहरीले ड्रोन क्यामेराबाट देखिएको एउटा शवको खोजी गर्ने क्रममा नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एक घरबाट २४ शव फेला पारेको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ड्रोन क्यामेरामार्फत खोजी गर्ने क्रममा एउटा शव देखिएको थियो। क्यामेराबाट प्राप्त स्थान विवरणका आधारमा प्रहरीको खोज तथा उद्धार टोली मंगलबार उक्त स्थानतर्फ गएको थियो। शव देखिएको स्थान बच्चुराम अवस्थीको घर रहेको खुलेको छ।
घर वरिपरि बाढीले बगाएर ल्याएको गहिरो दलदले हिलो जमेकाले घटनास्थलसम्म पुग्न निकै कठिन भएको थियो। त्यसपछि प्रहरीले आसपासका भग्नावशेषबाट जस्तापाता, काठ र डोरीलगायत सामग्री संकलन गरी हिलोमाथि अस्थायी बाटो बनाएको थियो।
प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवाल नेतृत्वको टोली त्यसैमार्फत घरसम्म पुग्न सफल भएको प्रहरीले जनाएको छ। ड्रोनमा देखिएको शव नजिकै अन्य शव हुन सक्ने आशंकामा घरभित्र तथा आसपास खोजी गर्दा थप २३ शव फेला परेका थिए।
यससँगै उक्त स्थानबाट फेला परेको शवको संख्या २४ पुगेको छ। तीमध्ये एक बालिका, ११ पुरुष र १२ महिला रहेका छन्।
प्रहरीले शवको मुचुल्कासम्बन्धी प्रक्रिया पूरा गरी व्यवस्थापनका लागि पठाउने तयारी भइरहेको जनाएको छ। तर घटनास्थल चारैतिर दलदले हिलोले घेरिएकाले शव स्थलमार्गबाट निकाल्न अत्यन्त कठिन भइरहेको छ।
प्रहरीका अनुसार शव व्यवस्थापनका लागि हेलिकोप्टर आवश्यक पर्ने अवस्था छ। घटनास्थलमा सुरक्षित आवतजावत गर्न नसकिने भएकाले उद्धार टोलीले समेत जोखिमपूर्ण अवस्थामा काम गरिरहेको छ।
नेपाल प्रहरीले स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी बेत्रावतीसहित बाढी प्रभावित क्षेत्रमा ड्रोन, स्थल टोली तथा अन्य उपलब्ध साधन प्रयोग गरेर बेपत्ताको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखेको जनाएको छ।





