१७ भाद्र २०८३, बुधबार

नारायणी नदीमा १७० शव फेला, ९८ को अझै सनाखत हुन बाँकी

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी बाढीपछि नारायणी नदीमा हालसम्म १७० वटा शव फेला परेका छन्। तीमध्ये ६८ शवको डीएनए नमूना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ भने चार शवको सनाखत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनका अनुसार बाँकी ९८ शवको अझै सनाखत तथा व्यवस्थापन गर्न बाँकी छ। पहिचान हुन नसकेका शवको भविष्यमा डीएनामार्फत पहिचान गर्न सकिने गरी आवश्यक नमूना र अभिलेख सुरक्षित राखेर व्यवस्थापन गरिएको हो।

नारायणी क्षेत्रमा सनाखत भएकामध्ये गोरखाको पालुङटार नगरपालिका–७ की २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिका–६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका–९ घर भई नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २८ वर्षीय सविन राना रहेका छन्।

यसैबीच बाढीपछि विभिन्न जिल्लामा फेला परेका अन्य शवको पनि पहिचान भइरहेको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का ४५ वर्षीय नारायणबहादुर थापा कब्दारको शव रसुवामा फेला परी पहिचान भएको र आफन्तले पोखराबाट बुझेर लगेको जनाइएको छ।

पाल्पाको तानसेन नगरपालिका–१० सुनडाँडाका प्रहरी सहायक हवल्दार दिपेन्द्र बिष्टको शव पनि रसुवामा फेला परी सनाखत भएपछि आफन्तले बुझेर सद्गत गरेका छन्।

त्यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का ३७ वर्षीय यादव भण्डारीको शव पूर्वी नवलपरासीमा फेला परेको छ। बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरीको शव पनि पूर्वी नवलपरासीमा फेला परेको र उनका दाजु सुग्रिव थारूले सनाखत गरी बुझेका छन्।

सोही क्षेत्रबाट फेला परेको बाँकेकै कोहलपुर नगरपालिका–११ का २८ वर्षीय महेश थारूको शव उनका ससुरा कालिराम थारूले सनाखत गरी बुझेको जनाइएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापन गरिएको स्थल, पहिचानका लागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा तथा आफन्तसँग भइरहेको समन्वय र सहजीकरणबारे जानकारी लिएका छन्।

पहिचान हुन नसकेका शवलाई सुनवल नगरपालिकास्थित एक सामुदायिक वन क्षेत्रमा कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। प्रशासनले बाँकी शवको सनाखतका लागि डीएनए परीक्षण तथा अन्य पहिचान प्रक्रिया जारी राखेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button