पोखरा ल्याइएका ८३ बेवारिसे शव डीएनए नमूना संकलनपछि जमिनमुनि व्यवस्थापन

ड्रागन मिडिया सम्वाददाता
बाढी प्रभावित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका पहिचान हुन नसकेका ८३ शव डीएनए नमूना संकलन र आवश्यक अभिलेखीकरणपछि जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गर्न थालिएको छ।
तनहुँ, गोरखा, धादिङ र पूर्वी नवलपरासीबाट पोखरा ल्याइएका कुल १०२ शवमध्ये हालसम्म १९ शवको पहिचान भएको छ। बाँकी ८३ शवको पहिचान हुन नसकेपछि डीएनए नमूना संकलन गरी प्रत्येक शवमा छुट्टाछुट्टै पहिचान ट्याग लगाएर व्यवस्थापन गरिएको हो।



पहिचान हुन नसकेका शवलाई पोखरा महानगरपालिका–१६ स्थित सेती नहर नजिकको वन क्षेत्रमा कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
सरकारले बाढीपछि विभिन्न जिल्लामा फेला परेका पहिचान हुन नसकेका शवको डीएनए नमूना, तस्बिर तथा आवश्यक विवरण सुरक्षित राखेर व्यवस्थापन गरिरहेको छ। यसबाट भविष्यमा आफन्तको डीएनएसँग नमूना मेल खाएमा शवको पहिचान स्थापित गर्न सकिनेछ।
बाढीले शवलाई घटनास्थलबाट धेरै टाढासम्म बगाएर विभिन्न जिल्लामा पुर्याएका कारण पहिचान प्रक्रिया जटिल बनेको छ। कतिपय शव क्षतविक्षत अवस्थामा फेला परेकाले प्रत्यक्ष पहिचान सम्भव नभएपछि डीएनए परीक्षणलाई मुख्य आधार बनाइएको छ।





