१७ भाद्र २०८३, बुधबार

विपद प्रभावित क्षेत्रमा सैन्य शैलीको पोशाकमा ‘ग्रीन आर्मी’, समन्वयबारे प्रश्न

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा ‘ग्रीन आर्मी’ नामक समूह सैन्य शैलीको पोशाकमा देखिएपछि यसको परिचालन र आधिकारिक समन्वयबारे प्रश्न उठेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा समूहका सदस्यहरूले आफूहरू काठमाडौँबाट उद्धारका लागि आएको ‘ग्रीन आर्मी’ भएको बताएका छन्। उनीहरूले नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो चुस्ता प्रयोग गरेको देखिन्छ।

बागमती प्रदेश प्रहरीका डीआईजी दीपक रेग्मीले उक्त समूह प्रभावित क्षेत्रमा परिचालित भएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि यसबारे जानकारी नभएको र बुझ्ने काम भइरहेको बताएका छन्।

यद्यपि ग्रीन आर्मी नेपालको पक्षबाट पूर्वप्रहरी महानिरीक्षक तथा संस्थाका प्रमुख सल्लाहकार सर्वेन्द्र खनालको नेतृत्वमा ११ सदस्यीय टोली नुवाकोटको नियन्त्रण कक्षलाई जानकारी गराएर स्वयंसेवी रूपमा प्रभावित क्षेत्रमा पुगेको दाबी गरिएको छ।

ग्रीन आर्मी नेपाल सरकारी सुरक्षा निकाय नभई कम्पनी ऐनअन्तर्गत दर्ता भएको गैरनाफामूलक संस्था हो। संस्थाले विद्यालय तथा कलेजका विद्यार्थीलाई अनुशासन, वातावरण संरक्षण, प्राथमिक उद्धार र सामाजिक सेवासम्बन्धी गतिविधिमा सहभागी गराउँदै आएको जनाएको छ।

विपद क्षेत्रमा सरकारी सुरक्षा संयन्त्रसँग स्पष्ट समन्वयबिना सैन्य शैलीको पोशाकमा गैरसरकारी समूह परिचालित हुँदा पहिचान, जिम्मेवारी र उद्धार व्यवस्थापनबारे अन्योल सिर्जना हुन सक्ने भएकाले सम्बन्धित निकायबाट यसको अवस्था स्पष्ट हुनुपर्ने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button