संखुवासभाका दुई अलपत्र सडक आयोजनामा मन्त्री आचार्यको कडा निर्देशन

ड्रागन मिडिया सम्वाददाता
संखुवासभामा वर्षौंदेखि अलपत्र परेका दुई ठूला बहुवर्षीय सडक आयोजना तोकिएको समयभित्र सम्पन्न नगरे ठेक्का रद्द गरी कानुनी कारवाही अघि बढाइने भएको छ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले विराटनगरस्थित मन्त्रालयमा निर्माण व्यवसायी तथा सम्बन्धित निकायसँग भएको छलफलमा सडक निर्माणमा निरन्तर ढिलाइ स्वीकार्य नहुने बताएका हुन्। सम्झौताअनुसार काम नगरी म्याद मात्र थप्ने प्रवृत्तिले विकास निर्माण प्रभावित भएको भन्दै उनले अब थप छुट नदिइने स्पष्ट पारे।
गुफापोखरी–चैनपुर–बाह्रबिसे १९.२ किलोमिटर सडक निर्माणका लागि अमर कन्स्ट्रक्सन प्रा.लि.सँग २०७६ कात्तिक १५ गते ६२ करोड ३७ लाख रुपैयाँमा ३६ महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता भएको थियो। चार पटकसम्म म्याद थप्दा पनि आयोजना पूरा हुन नसकेपछि आगामी कात्तिक २४ गते अन्तिम समयसीमा तोकिएको छ। उक्त अवधिभित्र अपेक्षित प्रगति नभए धरौटी जफत गरी ठेक्का रद्द गर्ने चेतावनी मन्त्रालयले दिएको छ।
त्यस्तै, याक्थुम्हाङ–खाम्पाचे जे.भी.ले २०७७ कात्तिकमा ४४ करोड ७ लाख रुपैयाँमा ठेक्का लिएको मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवाबेँसी १४.४ किलोमिटर सडकको काम पनि सन्तोषजनक नरहेको मन्त्रालयले जनाएको छ। २४ महिनामा सम्पन्न गर्ने भनिएको आयोजनामा हालसम्म ३० करोड २२ लाख रुपैयाँ भुक्तानी भइसके पनि भौतिक प्रगति करिब ६५ प्रतिशत मात्र रहेको छ।
छलफलपछि निर्माण कम्पनीले आगामी पुस १५ गतेभित्र सात किलोमिटर कालोपत्रेसहित ८५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने र पुस ३० गतेभित्र आयोजना सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएको छ। प्रतिबद्धता पूरा नभए कानुनबमोजिमको कारवाही स्वीकार गर्ने सहमति पनि भएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले लामो समयसम्म आयोजना अलपत्र पर्दा जनतामा विकासप्रति निराशा र वितृष्णा बढेको भन्दै ठेक्का व्यवस्थापनमा कडाइ आवश्यक रहेको बताएका छन्।





