मोरङ व्यापार संघको ७५औँ वार्षिकोत्सवमा १० पूर्वअध्यक्ष सम्मानित

ड्रागन मिडिया सम्वाददाता
मोरङ व्यापार संघले आफ्नो ७५औँ वार्षिकोत्सवका अवसरमा १० जना पूर्वअध्यक्षलाई सम्मान गरेको छ।
विराटनगरको वीरेन्द्र सभागृहमा मंगलबार आयोजित ६९औँ वार्षिक साधारणसभा तथा ७५औँ वार्षिकोत्सव समारोहमा पूर्वअध्यक्षहरू सुरेश शर्मा, देवेन्द्रराज गडिया, ताराचन्द खेतान, नन्दकिशोर राठी, खेमचन्द जैन, शंकरलाल अग्रवाल, महेश जाजु, अविनाश बोहरा, पवन सारडा तथा निवर्तमान अध्यक्ष नवीन रिजाललाई सम्मान गरिएको हो।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरका उद्योग कलकारखाना खुम्चिँदै गएको स्वीकार गर्दै निजी क्षेत्रलाई निराश नहुन आग्रह गरे। प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले उद्योग व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधार गर्न प्रदेश सरकार तयार रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरजकृष्ण वैद्यले भने वर्तमान सरकारबाट निजी क्षेत्रले अपेक्षित नतिजा पाउन नसकेको बताए। सरकारप्रति निजी क्षेत्रले ठूलो अपेक्षा राखे पनि त्यसअनुसारको परिणाम नदेखिएको उनको भनाइ थियो।
महासंघको व्यापार समिति सभापति तथा संघका निवर्तमान अध्यक्ष नवीन रिजालले निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए। ठूलो मात्रामा राजस्व बुझाउने व्यवसायीमाथि अनावश्यक धरपकड गरी त्रास सिर्जना नगर्न आग्रह गर्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारका रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिए।
समारोहमा संघका तर्फबाट रसुवाका बाढीपीडितको राहतका लागि ४१ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो। संघको ७५ वर्षे यात्रालाई समेटिएको विशेष स्मारिकासमेत विमोचन गरिएको छ।





