बाँकेमा छ हजार किशोरीलाई एचपिभी खोप लगाइने

ड्रागन मिडिया सम्वाददाता
बाँकेमा करिब छ हजार किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ।
स्वास्थ्य कार्यालय, बाँकेका अनुसार आगामी भदौ ३० गतेदेखि जिल्लाका आठवटै स्थानीय तहमा अभियान शुरु हुनेछ। पहिलो चरणमा विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरीलाई खोप लगाइनेछ भने त्यसपछि विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई समेटिनेछ।
स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले अभियान प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय र स्वास्थ्य संस्थाबीच आवश्यक समन्वय तथा तयारी भइरहेको जानकारी दिइन्।
ह्युमन प्यापिलोमा भाइरस अर्थात एचपिभीका केही प्रकारले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन्। किशोरी अवस्थामा खोप लगाउँदा भविष्यमा हुने संक्रमण र त्यसबाट उत्पन्न क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउन सकिने भएकाले सरकारले एचपिभी खोपलाई नियमित खोप कार्यक्रमअन्तर्गत विस्तार गर्दै आएको छ।
हालको राष्ट्रिय खोप कार्यक्रमअनुसार लक्षित किशोरीलाई एचपिभी खोपको एक मात्रा दिइन्छ। बाँकेमा पनि सोही व्यवस्थाअनुसार अभियान सञ्चालन गरिने जनाइएको छ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले अभियान सञ्चालनका लागि आवश्यक समन्वय र तयारी अघि बढाउने निर्णय गरेको हो।





