१७ भाद्र २०८३, बुधबार

काभ्रेका सात स्थानीय तहबाट भोटेकोशी बाढीपीडितका लागि एक करोड २० लाख सहयोग

ड्रागन मिडिया सम्वाददाता

काभ्रेपलाञ्चोकका सात स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुल एक करोड २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।

धुलिखेल नगरपालिकाले १० लाख, बेथानचोक गाउँपालिकाले ३५ लाख, पनौती नगरपालिकाले ३० लाख, पाँचखाल नगरपालिकाले १० लाख, बनेपा नगरपालिकाले १५ लाख तथा रोशी र चौरीदेउराली गाउँपालिकाले १०–१० लाख रुपैयाँ सहयोग गर्ने भएका हुन्।

बेथानचोक गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गाउँपालिकाको विपद कोषबाट १५ लाख तथा जनप्रतिनिधि, शिक्षक र कर्मचारीको सेवा सुविधा तथा पारिश्रमिकबाट २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। धुलिखेल नगरपालिकाका कार्यवहाक नगर प्रमुख निराजन जङ्गमका अनुसार भोटेकोशी बाढीपछि नगरका चार जना अझै सम्पर्कविहीन छन्।

स्थानीय तहसँगै विभिन्न राजनीतिक, सहकारी, सामाजिक तथा निजी संस्थाले पनि राहत सहयोग घोषणा गरेका छन्। नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले केन्द्रीय समितिमार्फत १७ लाख ६६ हजार रुपैयाँ उपलब्ध गराएको छ भने विभिन्न सहकारी, वडा कार्यालय, औषधालय तथा निजी व्यवसायीले पनि राहत रकम सहयोग गर्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सुरुमा ५२ जना सम्पर्कविहीन रहेको विवरण दर्ता भएको थियो। तीमध्ये केही सम्पर्कमा आएका र केहीको शव फेला परेपछि हाल ४१ जना सम्पर्कविहीन रहेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button