महाकाली नदीको बहाव वर्षकै उच्च, बनबासा पुलमा ठूला सवारी रोकिए

ड्रागन मिडिया सम्वाददाता
महाकाली नदीमा पानीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ। मंगलबार बिहान एक लाख १२ हजार क्युसेक रहेको बहाव राति ९ बजे बढेर एक लाख ८१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार नदीको जलस्तर निरन्तर बढेको छ। महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले बनबासा पुलबाट ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ।
करिब एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण अवस्थामा रहेकाले बर्सातमा नदीको बहाव बढ्दा सुरक्षाका कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भारतीय पक्षले जनाएको छ।
सुदूरपश्चिमका दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतको उत्तराखण्डको माथिल्लो क्षेत्रमा वर्षा हुँदा महाकाली नदीको जलस्तर बढ्ने गर्छ। नदीको बहाव उच्च भएपछि तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।





