उत्तरी छिमेकीसँग दरार पैदा गर्ने भूराजनीतिक चलखेलप्रति भट्टराईको चिन्ता

ड्रागन मिडिया सम्वाददाता
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान हिमाली विपदका समयमा छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशंका र दरार पैदा गर्ने गरी भइरहेका भूराजनीतिक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले विपदका बेला समेत दुराशयपूर्ण वा अनायास रूपमा हुने भूराजनीतिक चलखेलले विशेषगरी हिमालसँग प्रत्यक्ष जोडिएको उत्तरी छिमेकी चीनसँगको सम्बन्धमा अविश्वास सिर्जना गर्न सक्ने बताएका हुन्।
उनले भनेका छन्, “यस्तो महाविपत्तिको वेलामा पनि कतिपयले अत्यन्त दुराशयपूर्ण ढंगले र कतिले अनायाशै भूराजनीतिक चलखेल गर्ने र छिमेकीहरूसंगको सम्बन्ध र अझै ठोस रूपमा भन्नुपर्दा हिमालसंग प्रत्यक्ष जोडिएको उत्तरी छिमेकीसंगको सम्बन्धमा आशंका र दरार पैदा गर्ने जुन दृश्यअदृश्य हर्कत गरिरहेछन् त्यो ज्यादै चिन्ताजनक छ।”
भट्टराईले वर्तमान अन्तर्निर्भर अर्थतन्त्रमा नेपालको दीर्घकालीन राष्ट्रिय हितका लागि भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध तथा सहकार्य आवश्यक रहेको बताएका छन्। नेपालले दुई छिमेकीबीच गतिशील सेतुको भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ।
उनले हिमाली क्षेत्रसँग जोडिएका देशसँगको सहकार्य विस्तार गर्दै विशेषगरी भारत र चीनसँगको सम्बन्धलाई स्थिर र सन्तुलित राख्ने गरी आन्तरिक बहुआयामिक नीतिमा समयानुकूल परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन्।
भट्टराईको उक्त धारणा नेपालस्थित चिनियाँ दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जाल पृष्ठमार्फत शेयर गरेको छ।





