जल तथा मौसमसम्बन्धी तथ्याङ्क नदिएको आरोप चीनद्वारा अस्वीकार

ड्रागन मिडिया सम्वाददाता
नेपालस्थित चिनियाँ दूतावासले भोटेकोशी विपदपछि चीनले जल तथा मौसमसम्बन्धी तथ्याङ्क पारदर्शी रूपमा उपलब्ध नगराएको भन्ने केही नेपाली सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्ममा आएका आरोप अस्वीकार गरेको छ।
दूतावासका प्रवक्ताले जारी गरेको वक्तव्यमा गत अगस्ट २६ मा नेपाल–चीन केरुङ–रसुवा सीमाक्षेत्रमा आएको विनाशकारी पहिरोपछि प्रभावित जलाधार क्षेत्रमा अनुगमन केन्द्र क्षतिग्रस्त हुनु, यातायात अवरुद्ध हुनु र सञ्चार संकेत अस्थिर हुनुलगायत कठिनाइका बाबजुद तथ्याङ्क प्रसारण प्रणाली पुनःस्थापित गर्न चीनले प्रयास गरिरहेको उल्लेख छ।
चीनले प्रभावित जलाधार क्षेत्रका महत्वपूर्ण जल तथा मौसमसम्बन्धी तथ्याङ्क नेपालको जल तथा मौसम विज्ञान विभागलाई दैनिक रूपमा उपलब्ध गराउँदै आएको र अन्य सम्बन्धित नेपाली निकायसँग पनि आवश्यक जलसम्बन्धी सूचना समयमै साझा गरिरहेको दूतावासले जनाएको छ।
दूतावासले चीनको जल तथा मौसमसम्बन्धी तथ्याङ्कमा पारदर्शिता नभएको भन्ने आरोप तथ्यसँग मेल नखाने दाबी गर्दै यस्ता आरोपले नेपाल र चीनबीच भइरहेको विपद राहत सहकार्यमा असर पुर्याउने जनाएको छ।
चीनले मानवीय सहायताको भावनाअनुसार नेपालको विपद प्रतिकार्य तथा निर्णय प्रक्रियालाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै दूतावासले प्रभावित क्षेत्रको कठिनाइ सामना गर्न र पुनर्निर्माणमा नेपाललाई सहयोग जारी राख्ने जनाएको छ।





