भोटेकोशी बाढीको क्षतिबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव

ड्रागन मिडिया सम्वाददाता
प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसबाट भएको ठूलो जनधनको क्षतिसम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
सङ्घीय संसद सचिवालयले तयार पारेको प्रस्तावमा भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेशी र बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति प्रतिनिधिसभाले गहिरो दुःख व्यक्त गर्ने उल्लेख छ।
बाढीमा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैको मृत्यु भएको भन्दै प्रस्तावमा दिवङ्गतप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। घरबारविहीन भएका प्रभावित नागरिकको उचित व्यवस्थापन गर्नुपर्ने विषय पनि प्रस्तावमा समेटिएको छ।
यसैबीच, आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ९:३० बजे बस्दैछ। बैठकमा रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल गर्ने कार्यसूची छ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १२:१५ बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यक्रम छ।





