१७ भाद्र २०८३, बुधबार

पुटिन र पेजेस्कियानबीच बिश्केकमा भेटवार्ता, रुसले इरानप्रतिको समर्थन दोहोर्‍यायो

ड्रागन मिडिया समाचार कक्ष

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँगको रणनीतिक साझेदारी निरन्तर विस्तार भइरहेको बताउँदै कठिन सुरक्षा परिस्थितिमा रुस इरानी जनताको साथमा रहेको बताएका छन्।

किर्गिस्तानको बिश्केकमा शाङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलनका क्रममा इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भएको भेटवार्ताको शुरुवातमा पुटिनले दुई देशबीच व्यापक रणनीतिक साझेदारीसम्बन्धी सन्धिको भावना र प्रावधानअनुसार सम्बन्ध सबै क्षेत्रमा विकसित भइरहेको बताए।

पुटिनले इरानले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न देखाएको दृढता र साहसको प्रशंसा गर्दै इरानका सर्वोच्च नेता मोज्तबा हुसेनी खामेनेईप्रति शुभकामना र समर्थन सन्देश पठाएका छन्।

उनले गत जुनमा इरान र अमेरिकाबीच भएको युद्धविरामसम्बन्धी समझदारीलाई रुसले स्वागत गरेको भए पनि युद्धविराम अस्थिर र अत्यन्त कमजोर सावित भएको बताए। कठिन परिस्थितिमा रुसले इरानलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आवश्यक वस्तुको आपूर्ति समेत भइरहेको उनको भनाइ थियो।

सैन्य तथा राजनीतिक तनावका बाबजुद रुस र इरानबीच व्यापार, आर्थिक सम्बन्ध तथा अन्य क्षेत्रमा सहकार्यको गति कायम रहेको पुटिनले बताए। उनले नियमित रूपमा सक्रिय रहेको अन्तरसरकारी आयोग तथा युरेसियाली आर्थिक सङ्घ र इरानबीचको स्वतन्त्र व्यापार सम्झौताले आर्थिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

मानवीय तथा शैक्षिक सहकार्य पनि विस्तार भइरहेको छ। सन् २०२५–२६ शैक्षिक वर्षमा रुसमा अध्ययन गर्ने इरानी विद्यार्थीको संख्या करिब ९ हजार पुगेको छ, जसमा ८०२ जना रुसी संघीय बजेटअन्तर्गत अध्ययन गरिरहेका छन्। ठूलो संख्यामा इरानी विद्यार्थीले चिकित्सा शिक्षा लिइरहेको पुटिनले जानकारी दिए।

भेटवार्तामा रुस–इरान रणनीतिक सम्बन्ध, द्विपक्षीय आर्थिक सहकार्य, क्षेत्रीय सुरक्षा तथा अमेरिका–इरान तनावलगायत आपसी चासोका विषयमा छलफल भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button