१७ भाद्र २०८३, बुधबार

एससीओको २५औँ वार्षिकोत्सवमा बिश्केक घोषणापत्र, बहुध्रुवीय विश्व र संयुक्त राष्ट्रको भूमिकामा जोड

ड्रागन मिडिया समाचार कक्ष

शाङ्घाई सहयोग सङ्गठनका सदस्य राष्ट्रका नेताहरूले सङ्गठनको २५औँ वार्षिकोत्सवका अवसरमा बिश्केक घोषणापत्र जारी गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, बहुध्रुवीय विश्व व्यवस्था र सामूहिक सुरक्षाप्रति प्रतिबद्धता दोहोर्‍याएका छन्।

सेप्टेम्बर १ मा बिश्केकमा सम्पन्न राष्ट्रप्रमुख परिषद्को बैठकपछि जारी घोषणापत्रमा एससीओले पछिल्लो २५ वर्षमा संस्थागत र वैचारिक विकासको महत्वपूर्ण चरण पार गर्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा प्रभावशाली बहुपक्षीय सङ्गठनका रूपमा स्थापित भएको उल्लेख गरिएको छ।

सदस्य राष्ट्रहरूले सन् २०३५ सम्मको एससीओ विकास रणनीतिअनुसार सङ्गठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र दिगो विकासको प्रमुख आधारका रूपमा बलियो बनाउँदै प्रतिनिधिमूलक, लोकतान्त्रिक र न्यायपूर्ण बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा काम गर्ने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सैन्यीकरण र महत्वपूर्ण सूचना पूर्वाधारमाथि उत्पन्न हुने खतराको विरोध गरेको छ। कृत्रिम बुद्धिमत्ताको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्नुपर्ने तथा मानव जीवन, राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र राज्यको सार्वभौमिकतालाई क्षति पुर्‍याउने उद्देश्यले यसको प्रयोग स्वीकार्य नहुनेमा पनि जोड दिइएको छ।

एससीओ सदस्यहरूले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा विश्व व्यापार सङ्गठनका सिद्धान्तविपरीत हुने एकपक्षीय दबाबमूलक कदमको विरोध गरेका छन्। यस्ता कदमले खाद्य, ऊर्जा तथा मानवीय सुरक्षासहित विश्व अर्थतन्त्रमा नकारात्मक असर पार्ने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहलगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाको निर्णय प्रक्रियामा विकासशील देशको प्रतिनिधित्व र भूमिका बढाउने गरी विश्व वित्तीय संरचनामा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ।

बेलारुस, चीन, भारत, इरान, कजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानका नेताहरूले घोषणापत्रमा प्रतिबद्धता जनाएका छन्। सन् २०२८ मा रुसी साहित्यकार लियो टोल्स्टोयको २००औँ जन्मजयन्ती र किर्गिज लेखक चिङ्गिज आइतमातोभको १००औँ जन्मजयन्तीका अवसरमा एससीओस्तरीय कार्यक्रम आयोजना गर्ने पहललाई पनि सदस्य राष्ट्रहरूले समर्थन गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button