१७ भाद्र २०८३, बुधबार

सी चिनफिङ इजिप्टको राजकीय भ्रमणमा काइरो पुगे, ७० वर्षे सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता

ड्रागन मिडिया समाचार कक्ष

चीनका राष्ट्रपति सी चिनफिङ इजिप्टको राजकीय भ्रमणका लागि मंगलबार राजधानी काइरो पुगेका छन्। चीन र इजिप्टबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भएको यस भ्रमणलाई दुई देशको व्यापक रणनीतिक साझेदारीलाई थप गहिरो बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीको निमन्त्रणामा भएको यो सीको इजिप्टमा दोस्रो राजकीय भ्रमण हो।

भ्रमणअघि इजिप्टका अल अहराम, अल अखबार र अल गोम्हुरिया पत्रिकामा प्रकाशित हस्ताक्षरित लेखमा राष्ट्रपति सीले चीन इजिप्टसँगको व्यापक रणनीतिक साझेदारी अझ गहिरो बनाउन तयार रहेको बताएका छन्। ‘७० वर्षको ऐक्यबद्धताको उत्सव, चीन र इजिप्ट नयाँ यात्रामा’ शीर्षकको लेखमा उनले पारस्परिक विश्वास थप सुदृढ गर्दै मित्रतालाई भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

सीले दुई देशले एकअर्काका मूल हित र प्रमुख सरोकारमा निरन्तर समर्थन गर्दै विभिन्न तह र क्षेत्रमा आदानप्रदान तथा सहकार्य विस्तार गर्नुपर्ने बताएका छन्। चीन र इजिप्ट दुवै महत्वपूर्ण विकासशील राष्ट्र तथा ग्लोबल साउथका सदस्य भएकाले वास्तविक बहुपक्षीयता, अन्तर्राष्ट्रिय न्याय र विश्व शान्तिका पक्षमा मिलेर भूमिका खेल्नुपर्ने उनको धारणा छ।

इजिप्ट सन् १९५६ मा जनवादी गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो अरब तथा अफ्रिकी देश बनेको थियो। त्यसयता अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिमा ठूलो परिवर्तन आए पनि दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै आएको छ। पछिल्ला वर्षमा राष्ट्रपति सी र राष्ट्रपति सिसीको नेतृत्वमा चीन इजिप्ट व्यापक रणनीतिक साझेदारी थप गहिरिएको छ।

चीनले इजिप्टलाई अरब विश्व र अफ्रिकासँगको सहकार्य विस्तार गर्ने महत्वपूर्ण साझेदारका रूपमा हेर्दै आएको छ। राष्ट्रपति सीले आफ्नो लेखमा चीन अरब तथा चीन अफ्रिका सहकार्यलाई अगाडि बढाउन इजिप्टको भौगोलिक तथा राजनीतिक भूमिकाको उपयोग गर्दै विकास, सुरक्षा, सभ्यता र विश्व शासनसम्बन्धी चार विश्वव्यापी पहल कार्यान्वयनमा सहकार्य गर्नुपर्ने बताएका छन्।

यो भ्रमण मध्यपूर्वमा गाजा, इरान तथा अन्य क्षेत्रीय सुरक्षा चुनौतीका कारण अस्थिरता कायम रहेको समयमा भइरहेको छ। इजिप्ट क्षेत्रीय शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष हो भने चीनले पनि प्यालेस्टिनी जनताको स्वतन्त्र राज्य स्थापनाको अधिकारलाई समर्थन गर्दै मध्यपूर्वमा राजनीतिक समाधान र स्थिरताको पक्षमा भूमिका विस्तार गर्दै आएको छ।

चिनियाँ विश्लेषकहरूले ७० वर्षे कूटनीतिक सम्बन्धको पृष्ठभूमिमा भइरहेको भ्रमणले पूर्वाधार, व्यापार, लगानी र नयाँ प्रविधिसँगै चीन र इजिप्टबीच ग्लोबल साउथको समन्वय र मध्यपूर्वी शान्ति प्रक्रियामा सहकार्य विस्तार गर्ने सम्भावना रहेको बताएका छन्। राष्ट्रपति सीले भ्रमणका क्रममा राष्ट्रपति सिसीसँग द्विपक्षीय सम्बन्ध, विभिन्न क्षेत्रको सहकार्य तथा साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button