१७ भाद्र २०८३, बुधबार

चीनका तीन विज्ञान–प्रविधि नवप्रवर्तन केन्द्रले अनुसन्धानलाई उद्योगसँग जोड्दै, एआईबाट उत्पादन निर्णयसम्म

ड्रागन मिडिया समाचार कक्ष

चीनले विज्ञान तथा प्रविधिको अनुसन्धानलाई औद्योगिक उत्पादनसँग प्रत्यक्ष जोड्दै क्षेत्रीय नवप्रवर्तन प्रणाली तीव्र रूपमा विस्तार गरेको छ। बेइजिङ–थियानचिन–हबेई, याङ्त्से नदी डेल्टा र ग्वाङ्दोङ–हङकङ–मकाओ ग्रेटर बे एरियामा केन्द्रित तीन अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि नवप्रवर्तन केन्द्रलाई अनुसन्धानदेखि व्यावसायिक उत्पादनसम्मको श्रृंखला जोड्ने प्रमुख संरचनाका रूपमा विकास गरिएको सिन्ह्वाले जनाएको छ।

पूर्वी चीनको आन्हुई प्रान्तको राजधानी हफेईस्थित एनआईओको अत्यधिक स्वचालित कारखानामा यसको व्यावहारिक प्रयोग देखिएको छ। त्यहाँ कृत्रिम बुद्धिमत्तामा आधारित एउटा प्रणालीले ८४ सेकेन्डमै चार्जिङ, भित्री उपकरण र सवारी तताउने प्रणालीलगायत ६९ वटा परीक्षण गर्छ। अर्को प्रणालीले सवारीकै कम्प्युटर प्रयोग गरेर करिब तीन मिनेटमा झन्डै एक हजार प्रकार्यको स्वचालित परीक्षण गर्छ। एनआईओ म्यानुफ्याक्चरिङका जनसम्पर्क निर्देशक याङ यीका अनुसार एआईले अहिले कारखानाका करिब ८० प्रतिशत उत्पादनसम्बन्धी निर्णयमा सहयोग गर्न थालेको छ।

चीनले यसअघि बेइजिङ र शाङ्हाईमा केन्द्रित नवप्रवर्तन क्षमतालाई क्रमशः बेइजिङ–थियानचिन–हबेई क्षेत्र र याङ्त्से नदी डेल्टासम्म विस्तार गरेको छ। सन् २०२५ को केन्द्रीय आर्थिक कार्य सम्मेलनले एक शहरमा केन्द्रित वैज्ञानिक उपलब्धिबाट क्षेत्रीय समन्वयमा आधारित नवप्रवर्तनतर्फ जाने दिशा तय गरेको थियो। बेइजिङले अनुसन्धान उपलब्धिलाई व्यावसायिक प्रयोगमा रूपान्तरण गर्न दुई सयभन्दा बढी सेवा मञ्च निर्माण गरेको छ भने चोङक्वानछुनको प्रविधि कारोबार केन्द्रमा प्रमुख प्रयोगशालाका अनुसन्धान उपलब्धिको नियमित प्रदर्शन हुँदै आएको छ।

ग्वाङ्दोङ–हङकङ–मकाओ ग्रेटर बे एरियामा हङकङ र मकाओमा हुने अनुसन्धानलाई मुख्यभूमि चीनमा व्यावसायिक उत्पादनसँग जोड्ने मोडल अघि बढाइएको छ। हङकङका पाँच अनुसन्धान विश्वविद्यालयले छ्यानहाइमा प्रविधि हस्तान्तरण मञ्च स्थापना गरी एक सय ५० भन्दा बढी विज्ञान तथा प्रविधि परियोजना विकास गरेका छन्। ग्वाङ्चौस्थित चिप निर्माता क्यानसेमी टेक्नोलोजीले शून्यबाट कारखाना निर्माण गरी १८ महिनामै उत्पादन शुरु गरेको छ। ग्रेटर बे एरियामा अहिले १० वटा प्रमुख राष्ट्रिय विज्ञान–प्रविधि पूर्वाधार र प्रत्येकको मूल्य एक ट्रिलियन युआनभन्दा बढी रहेका १० औद्योगिक समूह रहेको बताइएको छ।

शाङ्हाईले कृत्रिम बुद्धिमत्तामा आधारित वैज्ञानिक अनुसन्धानका लागि सार्वजनिक मञ्च निर्माण गर्दै कम्पनीहरूलाई वास्तविक औद्योगिक प्रयोग क्षेत्रसँग जोडिरहेको छ। शाङ्हाई स्मार्टलजिक टेक्नोलोजीको वैज्ञानिक गणना तथा सिमुलेसन प्रणालीले केही औषधि र नयाँ पदार्थसम्बन्धी अनुसन्धानमा वर्षौँ लाग्ने सिमुलेसनलाई केही दिनमै पूरा गर्न सक्ने बताइएको छ। त्यहाँ प्रयोगशाला अनुसन्धान, परीक्षण उत्पादन र ठूलो परिमाणको उत्पादनलाई एउटै प्रणालीमा जोड्ने संरचना पनि विकास भइरहेको छ।

तीन केन्द्रले आआफ्ना विशेष क्षमता विकास गरेका छन्। बेइजिङ अत्यधिक उद्धृत वैज्ञानिकको सङ्ख्यामा विश्वका अग्रणी शहरमध्ये पर्छ भने शाङ्हाई भौतिकशास्त्र, रसायनशास्त्र र जीवन विज्ञानको मौलिक अनुसन्धानमा अगाडि छ। ग्रेटर बे एरिया उच्च प्रविधि कम्पनी, अन्तरसीमा अनुसन्धान श्रोतको प्रवाह र पेटेन्ट कोअपरेसन ट्रिटीअन्तर्गत दर्ता हुने पेटेन्ट आवेदनमा चीनका अग्रणी क्षेत्रमध्ये रहेको छ।

विशेषज्ञहरूले अब प्रयोगशालाबाट ठूलो परिमाणको उत्पादनसम्मको प्रक्रियामा रहेका अवरोध हटाउनु, थप मौलिक वैज्ञानिक उपलब्धि हासिल गर्नु र प्रतिभा, पूँजी तथा प्रविधिलाई क्षेत्रबीच सहज रूपमा प्रवाह गराउनु मुख्य चुनौती रहेको बताएका छन्। ग्वाङ्दोङले आफ्नो प्रादेशिक रणनीतिक विज्ञान–प्रविधि बजेटको एकतिहाइभन्दा बढी हिस्सा आधारभूत अनुसन्धानमा लगाएको छ भने क्वान्टम प्रविधि, जैविक उत्पादन, एम्बोडिड इन्टेलिजेन्स र छैटौँ पुस्ताको मोबाइल सञ्चार प्रविधिमा मौलिक उपलब्धि हासिल गर्ने परियोजना अघि बढाएको छ।

चीनले सन् २०२६ देखि २०३० सम्मको १५औँ पञ्चवर्षीय योजनाअन्तर्गत सरकार, उद्योग, विश्वविद्यालय र अनुसन्धान संस्थाबीचको सम्बन्ध थप बलियो बनाउँदै वैज्ञानिक उपलब्धिलाई वास्तविक उत्पादन र आर्थिक विकासमा रूपान्तरण गर्ने क्षेत्रीय नवप्रवर्तन प्रणाली विस्तार गर्ने लक्ष्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button