१७ भाद्र २०८३, बुधबार

‘सेना परिचालन भयो, जनपरिचालन भएन’ : प्रचण्ड

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीपछि नेपाली सेना परिचालन भए पनि आवश्यक स्तरमा जनपरिचालन र अन्तरसरकारी समन्वय हुन नसकेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले नेपाली सेनाले जोखिम मोलेर खोज तथा उद्धारमा काम गरेको भन्दै प्रशंसा गरे। तर विपदको सामना सुरक्षा निकायको परिचालनबाट मात्र सम्भव नहुने र प्रदेश सरकार, स्थानीय तह तथा नागरिक समाजलाई समेत प्रभावकारी रूपमा जोड्नुपर्ने बताए।

“बाढीपछि सेनाले जोखिम उठाएर काम गरेको देखिएको छ। त्यसको प्रशंसा नै गर्नुपर्छ। तर सरकारले जसरी प्रदेश, स्थानीय र नागरिक समाजसँग समन्वय गर्नुपर्ने थियो, त्यो देखिएन,” उनले भने।

प्रचण्डले विपद व्यवस्थापनमा केन्द्र सरकारसँग प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी रूपमा नजोड्दा समस्या थप जटिल हुने बताए। स्थानीय तहबाट सरकारको उद्धार कार्यप्रति असन्तुष्टि र असफल भएको गुनासो आएको पनि उनले उल्लेख गरे।

सुरुङमा फसेकाहरूको उद्धारलगायत प्राविधिक विषयमा आवश्यक विशेषज्ञ सहयोग लिनुको सट्टा सरकारले आफैँ गर्न सक्ने ढंगले प्रस्तुत हुँदा समस्या उत्पन्न भएको उनको भनाइ थियो।

प्रचण्डले सरकारसँग अझै कमजोरी सच्याउने अवसर रहेको उल्लेख गर्दै रसुवा विपदबाट पाठ सिकेर उद्धार, राहत तथा पुनःस्थापनामा तीनै तहका सरकार, सुरक्षा निकाय र नागरिक समाजबीच प्रभावकारी समन्वय गर्न आग्रह गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button