१७ भाद्र २०८३, बुधबार

५५ वर्षे अनिवार्य अवकाश प्रस्तावपछि झापाका प्रजिअ शिवराम गेलालले दिए राजीनामा

ड्रागन मिडिया सम्वाददाता

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले दुई दिनअघि काठमाडौं पुगेर गृहसचिवसमक्ष राजीनामा पत्र बुझाएका हुन्। उनको राजीनामा भोलिदेखि लागू हुने जनाइएको छ।

राजीनामा बुझाएर झापा फर्किएका गेलाललाई आज जिल्ला प्रशासन कार्यालयमा आयोजित औपचारिक कार्यक्रममार्फत बिदाइ गरिएको छ। उनी २०८२ कात्तिक १३ गतेदेखि झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।

सरकारले संघीय निजामती सेवामा जनशक्ति कटौती गर्ने उद्देश्यसहित ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई एकपटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था अघि बढाएपछि गेलालले राजीनामा दिएको बुझिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरी रायका लागि कानुन मन्त्रालयमा पठाएको संघीय निजामती सेवा विधेयकको मस्यौदामा उक्त व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित व्यवस्था हाल कानुनी प्रक्रियामै रहेकाले लागू भइसकेको भने छैन।

मस्यौदामा रहेको व्यवस्था हुबहु पारित भएर कार्यान्वयनमा आए ५५ वर्ष उमेर पूरा गरेका वा ३० वर्ष सेवा अवधि पुगेका ठूलो सङ्ख्याका निजामती कर्मचारी एकैपटक सेवाबाट बाहिरिनेछन्। यसले संघीय निजामती सेवाका पुराना तथा वरिष्ठ कर्मचारीको ठूलो समूह प्रभावित हुने देखिएको छ।

प्रस्तावित अवकाश व्यवस्थाले निजामती सेवाभित्र व्यापक बहस र असन्तुष्टिसमेत सिर्जना गरेको छ। यही पृष्ठभूमिमा झापाका प्रमुख जिल्ला अधिकारी गेलालको राजीनामालाई प्रस्तावित नयाँ अवकाश नीतिसँग जोडेर हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button