पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्न बादलको प्रस्ताव

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले भोटेकोशी विपदपछि खोज, उद्धार, राहत, अन्तर्राष्ट्रिय सहयोग र पुनर्निर्माणलाई प्रभावकारी बनाउन छुट्टाछुट्टै विशेष संयन्त्र गठन गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वयका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल र बाढीबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा अर्को विशेष कार्यदल गठन गर्नुपर्ने बताए। उनले खोज, उद्धार र राहतलाई युद्धस्तरमा सञ्चालन गर्न रक्षामन्त्रीको नेतृत्वमा एकीकृत विशेष कार्यदल गठन गर्नसमेत प्रस्ताव गरे।
थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो एकाङ्गी कार्यशैलीमा गुणात्मक परिवर्तन गर्दै संसदप्रति पूर्ण उत्तरदायी हुनुपर्ने बताए। सरकारले विपद व्यवस्थापनका योजना, प्रगति र निर्णयबारे प्रतिनिधिसभालाई नियमित रूपमा जानकारी गराउनुपर्ने उनको भनाइ थियो।
विद्यमान संकट राष्ट्रिय सहमति र सामूहिक प्रयासबाट मात्र सामना गर्न सकिने उल्लेख गर्दै उनले राजनीतिक दल, नागरिक समाज र विज्ञ सम्मिलित सर्वपक्षीय संयन्त्र तत्काल निर्माण गर्न आग्रह गरे। सरकारलाई आवश्यक सचेत गराउने, निगरानी गर्ने र सहयोग पुर्याउने उद्देश्यले सभामुखको अग्रसरतामा विशेष संसदीय समिति गठन गर्नुपर्ने प्रस्तावसमेत उनले राखे।
थापाले भोटेकोशी विपदलाई केवल प्राकृतिक दुर्घटनाका रूपमा नहेरी यसको कारणको वैज्ञानिक र वस्तुगत अध्ययन गर्नुपर्ने बताए। जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो जोखिमका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन आवश्यक रहेको उनको भनाइ थियो।
उनले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउने र दीर्घकालीन रणनीति तय गर्ने उद्देश्यले ‘सगरमाथा संवाद’को दोस्रो संस्करण तत्काल आयोजना गर्न सरकारलाई आग्रह गरे। राष्ट्रिय विपदको सामना छरिएका प्रयासबाट नभई सामूहिक र सङ्गठित शक्तिबाट मात्र गर्न सकिने भन्दै थापाले सरकारलाई प्रतिपक्षको रचनात्मक सहयोग रहने पनि स्पष्ट पारे।





