१७ भाद्र २०८३, बुधबार

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपदसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत पारित

ड्रागन मिडिया सम्वाददाता

प्रतिनिधिसभाले भोटेकोशी बाढी विपदसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाले पारित गरेको हो।

प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले विपदमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गरे। उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।

सभामुखले विपद प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउँदै विशेषगरी महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न आग्रह गरे।

उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको र त्यसको असर हिमनदी तथा हिमतालमा देखिन थालेको उल्लेख गर्दै यसबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौतीलाई नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउनुपर्ने बताए। जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो मुद्दा अझ स्पष्ट र सशक्त रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।

“रसुवा विपदले हामीलाई महत्वपूर्ण पाठ सिकाएको छ। विपदपछिको व्यवस्थापन मात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्छ। हिमताल र हिमनदीको नियमित अनुगमन प्राथमिकतामा राख्नुपर्छ,” सभामुख अर्यालले भने।

उनले तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सम्पूर्ण संयन्त्र र श्रोत परिचालन गरी उद्धारलाई तीव्रता दिन तथा विस्थापित नागरिकको पुनःस्थापना गर्न आग्रह गरे। बैठकमा भोटेकोशी बाढी विपदमा ज्यान गुमाएकाको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button