१७ भाद्र २०८३, बुधबार

देउवा समूहले मंसिर २१ देखि १५औँ महाधिवेशन गर्ने प्रस्ताव, भदौ २५ भित्र जिल्ला तयारी समिति

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने प्रस्तावसहित अधिवेशन तयारीको कार्यतालिका अघि सारेको छ।

देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बुधबार बसेको दोस्रो बैठकले भदौ १८ गतेभित्र केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने प्रस्ताव गरेको छ। महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ र आदिवासी जनजाति महासंघका तदर्थ समिति गठन गर्ने प्रस्ताव पनि गरिएको छ।

समितिले ७७ वटै जिल्लामा अधिवेशन तयारीका लागि केन्द्रीय प्रतिनिधि खटाउने र उनीहरूलाई भदौ २० गतेभित्र सम्बन्धित जिल्ला पुग्न निर्देशन दिने प्रस्ताव गरेको छ। जिल्ला अधिवेशन तयारी समिति भदौ २५, संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रका तयारी समिति भदौ २८ तथा पालिका र वडा तयारी समिति असोज ३ गतेभित्र गठन गर्ने कार्यतालिका छ।

क्रियाशील सदस्यताको विवरण असोज ९ गतेभित्र टुङ्ग्याउने प्रस्ताव गरिएको छ। १४औँ महाधिवेशनमा सहभागी भएका सदस्य, त्यसबेला नै १५औँ महाधिवेशनमा सहभागी हुने निर्णय भएका सदस्य तथा २०८२ पुस १० गतेभित्र सदस्यता नवीकरण वा नयाँ सदस्यताका लागि आवेदन दिएका व्यक्तिलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने प्रस्ताव छ। सदस्यतासम्बन्धी विवादमा क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने उल्लेख गरिएको छ।

प्रस्तावित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते हुनेछ। केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने प्रस्ताव छ।

बैठकले आगामी प्रदेशसभा तथा स्थानीय तह निर्वाचनका सम्भावित उम्मेदवारको नाम संकलन र छनोट प्रक्रिया अघि बढाउने प्रस्ताव पनि गरेको छ। सम्बन्धित तहका समितिले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका तथा वडा तहका विभिन्न पदका आकांक्षीको विवरण संकलन गर्नेछन्।

बैठकले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी, उद्धार, राहत, सुरक्षित आवास, क्षतिपूर्ति र पुनर्स्थापनामा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रभावितलाई सहयोग गर्न राजनीतिक दल, भ्रातृ तथा शुभेच्छुक संस्था, निजी क्षेत्र, वित्तीय संस्था, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायसँग समेत अपिल गरिएको छ।

समितिले ११३औँ बीपी जयन्ती मनाउने तथा समसामयिक राजनीतिक विषयमा थप छलफल गर्ने निर्णय पनि गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button