१७ भाद्र २०८३, बुधबार

प्रधानमन्त्री शाहको संसद् ब्रिफिङ : ११,९९३ उद्धार, १,११४ शव फेला, ३,९१६ अझै सम्पर्कविहीन

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीलाई “सिंगो नेपालको छातीमा परेको साझा बज्रपात” भन्दै खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहने बताएका छन्। बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले भदौ १० गते बिहान बाढीको सूचना प्राप्त भएदेखि सरकारले गरेका काम र हालसम्मको अवस्थाबारे विस्तृत जानकारी गराए।

प्रधानमन्त्रीका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। उद्धारपछि विभिन्न अस्पतालमा भर्ना गरिएका २९२ घाइतेमध्ये १८२ जना घर फर्किसकेका छन्। नुवाकोटका १९ अस्थायी आश्रयस्थलमा २ हजार ६५३ प्रभावित नागरिकलाई आश्रय तथा राहत उपलब्ध गराइएको छ।

शाहले हालसम्म १ हजार ११४ शव फेला परेको र तीमध्ये ९५ जनाको पहिचान गरी परिवारलाई जिम्मा लगाइएको जानकारी दिए। तत्काल पहिचान हुन नसकेका शव कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी डीएनएलगायत पहिचानका आधार सुरक्षित राखेर अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरिएको र डीएनए मिलेपछि सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने उनले बताए।

प्रधानमन्त्रीले विपदको पहिलो दिनदेखि सेना, प्रहरी, सशस्त्र प्रहरी, हेलिकप्टर, ड्रोन, स्वास्थ्य टोली तथा अन्य सरकारी संयन्त्र परिचालन गरिएको बताए। भदौ ११ गते राति ८ बजेसम्म मात्रै १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भइसकेका र ६९ हवाई उडानबाट ३५१ जनाको उद्धार गरिएको उनको भनाइ थियो।

राहत तथा आर्थिक सहयोगतर्फ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिइयो। त्यसमध्ये राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रुपैयाँ निकासा गरिएको र १५ स्थानीय तहमा ६ करोड ७५ लाख रुपैयाँ पठाइसकिएको छ। कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलरसमेत जम्मा भएको छ।

प्रधानमन्त्रीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, चीन, अमेरिका, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, स्विट्जरल्यान्ड, सिंगापुर, दक्षिण कोरिया, जापान र बेलायतलगायत मित्रराष्ट्र तथा एसियाली विकास बैंक, विश्व बैंक, युरोपेली युनियन र संयुक्त राष्ट्रसंघबाट सहयोग प्राप्त भइरहेको बताए। विदेशी सहयोग लिन सरकारले ढिलाइ गरेको भन्ने प्रश्न अस्वीकार गर्दै उनले विपदको शुरुदेखि नै आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सहयोगका लागि समन्वय गरिएको स्पष्ट पारे।

भौतिक पूर्वाधारतर्फ अवरुद्ध सञ्चार सेवाको ९५ प्रतिशत पुनःस्थापना भइसकेको र पहुँचबाहिरका क्षेत्रमा ३० वटा स्याटेलाइट फोन प्रयोग भइरहेको प्रधानमन्त्रीले बताए। बाढीले ४८ झोलुङ्गे पुल र ३१ मोटरेबल पुलमा क्षति पुर्‍याएको छ। विभिन्न स्थानमा बेलिब्रिज राख्ने काम शुरु भएको छ भने थप २० स्थानमा सम्भाव्यता अध्ययन भइरहेको छ।

प्रधानमन्त्री शाहले विज्ञहरूले भोटेकोशी बाढीलाई हिमालय क्षेत्रमा हिउँ तथा चट्टानको हिमपहिरोबाट उत्पन्न ठूलो विपदका रूपमा प्रारम्भिक मूल्याङ्कन गरेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमाली जोखिम बढिरहेको गम्भीर संकेत देखिएको बताए। उनले नेपालले जलवायुजन्य विपदको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष अझ सशक्त रूपमा उठाउनुपर्ने धारणा राखे।

उद्धारमा ढिलाइ, सुरुङमा फसेकाको खोज, शव व्यवस्थापन, विदेशी सहयोग तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयबारे उठेका प्रश्नको जवाफ दिँदै शाहले सरकार सुरुदेखि नै तीनै तहका सरकार र अन्तर्राष्ट्रिय विशेषज्ञसँग समन्वयमा रहेको बताए। उनले बेपत्ताको खोजी, घाइतेको उपचार र घरबारविहीनको अस्थायी तथा दीर्घकालीन पुनःस्थापना निरन्तर रहने प्रतिबद्धता जनाउँदै भने, “सरकार हिजो पनि तपाईंसँगै थियो, आज पनि छ र भोलि पनि रहनेछ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button