सीटीबीटीओको काममा रूसी एआई प्रविधि प्रयोगको सम्भावनाबारे भियनामा छलफल

ड्रागन मिडिया समाचार कक्ष
सम्पूर्ण आणविक परीक्षण प्रतिबन्ध सन्धि संगठनको तयारी आयोग, सीटीबीटीओको काममा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता प्रविधि प्रयोग गर्न सकिने सम्भावनाबारे भियनामा विशेष छलफल भएको छ।
सेप्टेम्बर १ मा सीटीबीटीओ तयारी आयोगको वर्किङ ग्रुप बीको ६७औँ सत्रका अवसरमा रूसी संघको स्थायी नियोगको सहयोगमा आयोजित कार्यक्रममा सदस्य राष्ट्रका कूटनीतिज्ञ, राष्ट्रिय विज्ञ तथा आयोगको अस्थायी प्राविधिक सचिवालयका अधिकारी गरी १२० भन्दा बढी सहभागी थिए।
रूसका उपस्थायी प्रतिनिधि रोमन उस्तिनोभले सीटीबीटीओको काममा एआई प्रविधि समावेश गर्दा अत्यन्त सावधानी अपनाउनुपर्ने बताए। संवेदनशील सूचनाको सुरक्षा, मानव जिम्मेवारी र अन्तिम निर्णयमा मानव विवेकको निर्णायक भूमिका कायम राख्ने, प्रयोग हुने एआई मोडेल पारदर्शी बनाउने तथा सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गर्नुपर्ने उनले बताए।
उनले एआई प्रयोगसम्बन्धी निर्णयमा आयोगका नीति निर्माण गर्ने निकायप्रति स्पष्ट जवाफदेहिता कायम रहनुपर्नेमा पनि जोड दिए।
कार्यक्रममा स्कोलटेक एआई सेन्टरका निर्देशक तथा एआई विकाससम्बन्धी उपाध्यक्ष प्राध्यापक एभ्गेनी बुर्नाएभले रूसी कृत्रिम बुद्धिमत्ता प्रविधिको सम्भावित प्रयोगसम्बन्धी विभिन्न परीक्षण परियोजना प्रस्तुत गरे। उनका अनुसार प्रस्तावित प्रविधिले सीटीबीटीओका विद्यमान संयन्त्रलाई प्रतिस्थापन गर्ने नभई बुद्धिमत्तापूर्ण तथ्याङ्क विश्लेषण र पूर्वानुमान क्षमतामार्फत थप सहयोग पुर्याउने लक्ष्य राख्छ।
कार्यक्रमप्रति कूटनीतिक तथा प्राविधिक समुदायबाट उल्लेख्य चासो देखिएको र विषयको जटिलता तथा महत्वलाई ध्यानमा राख्दै सीटीबीटीओ तयारी आयोगको काममा एआई प्रयोगबारे अध्ययन गर्न पृथक विशेषज्ञ समूह गठन गर्ने सम्भावनामा समेत प्रारम्भिक विचारविमर्श शुरु भएको जनाइएको छ।





