१८ भाद्र २०८३, बिहीबार

सात वर्ष पुग्न लाग्दा पनि पूरा भएन बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडक

ड्रागन मिडिया सम्वाददाता

लमजुङको क्व्होलासोथार गाउँपालिकामा निर्माणाधीन बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडक आयोजना सम्झौता भएको सात वर्ष पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन। १७ किलोमिटर लामो सडक निर्माणका लागि २०७६ असोज ३० गते सम्झौता भएको थियो भने प्रारम्भिक लक्ष्य २०७८ असोज २९ गतेभित्र काम सम्पन्न गर्ने थियो।

कान्छाराम कन्स्ट्रक्सनले ३६ करोड ६६ लाख ६८ हजार १७५ रुपैयाँमा ठेक्का लिएको आयोजनाको म्याद पटकपटक थपिएको छ। पहिलोपटक २०७९ असोज २९, त्यसपछि २०८१ असार २८ र पुनः २०८२ चैत ३० गतेसम्म म्याद थपिए पनि निर्माण सम्पन्न हुन सकेन। हाल म्याद थप प्रक्रिया टुङ्गिन बाँकी रहेको छ।

पूर्वाधार विकास कार्यालयका परामर्शदाता राजेश अधिकारीका अनुसार निर्माण कम्पनीले साउन ४ गते पुनः म्याद थपका लागि निवेदन दिएको छ। आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तीय प्रगति भएको छ भने २७ करोड ३७ लाख ४६ हजार ९८२ रुपैयाँ भुक्तानी भइसकेको छ।

आयोजनाअन्तर्गत बाग्लुङपानीदेखि घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने योजना छ। हालसम्म कालोपत्र गर्नुपर्ने खण्डमध्ये पाँच हजार ५०० मिटर मात्र सम्पन्न भएको छ भने चार हजार ५०० मिटर बाँकी छ। सात किलोमिटर ग्राभेल गर्नुपर्ने खण्डमा दुई किलोमिटर मात्र काम सम्पन्न भएको छ।

नाली, माटो कटिङ, ढलान, कल्भर्ट तथा पर्खाल निर्माणका काम पनि पूर्ण भएका छैनन्। करिब चार हजार ९०० घनमिटर नाली निर्माण गर्नुपर्नेमा दुई हजार ७२९ घनमिटर मात्र बनेको छ। तीन हजार १८७ घनमिटर ढलान गर्नुपर्नेमा २०१ घनमिटर मात्रै सम्पन्न भएको छ।

म्याद थपसम्बन्धी प्रक्रिया टुङ्गो नलाग्दा पछिल्लो समय निर्माण अघि बढ्न नसकेको अधिकारीले बताएका छन्। सडक सम्पन्न भएपछि पर्यटकीय घलेगाउँ र भुजुङमा आवागमन सहज हुनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button