१८ भाद्र २०८३, बिहीबार

कञ्चनपुरका सात पालिकामा गौरा पर्वको बिदा, मकवानपुरका दुई पालिकामा न्वागीका लागि दुई दिन सार्वजनिक बिदा

ड्रागन मिडिया सम्वाददाता

कञ्चनपुरका सात स्थानीय तहले सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक पर्व गौराका अवसरमा आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाँडी र बेलडाँडी गाउँपालिकाले स्थानीय बिदा दिएका हुन्।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार नगर प्रमुखस्तरीय निर्णयबाट गौरा पर्वका अवसरमा स्थानीय बिदा दिइएको हो। शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि पालिकाभर आज सार्वजनिक बिदा रहेको जानकारी दिएका छन्।

यसैबीच चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी अर्थात छोनामका अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले भदौ २२ र २३ गते दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

राक्सिराङ गाउँपालिकाले सरकारी कार्यालय, सार्वजनिक संघसंस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन्। कैलाश गाउँपालिकाले पनि सोही अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

चेपाङ समुदायमा न्वागीका अवसरमा नयाँ खाद्यान्न बाली तथा वनस्पति घरमा राखेर पूजा गर्ने, एकपाखे ढ्याङ्ग्रो बजाउने र भोलिपल्ट बिहान पितृ पूजा गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।

नयाँ बाली पहिले पितृलाई चढाएपछि मात्र आफूले ग्रहण गर्ने तथा भूमि र प्रकृतिको पूजा गर्ने न्वागी पर्वको प्रमुख सांस्कृतिक विशेषता हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button