कञ्चनपुरबाट भोटेकोशी विपद प्रभावितका लागि एक करोडभन्दा बढी सहयोग

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरका विभिन्न स्थानीय तह, शैक्षिक संस्था, सहकारी, व्यावसायिक संस्था तथा व्यक्तिहरूले एक करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
शुक्लाफाँटा नगरपालिकाले सात लाख रुपैयाँ सहयोग गरेको छ भने सुदूरपश्चिम विश्वविद्यालयले ८८ लाख रुपैयाँ राहत कोषमा प्रदान गरेको छ। विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टका अनुसार उपकुलपतिले एक महिनाको, प्राध्यापक तथा कर्मचारीले १० दिनसम्मको र अन्य तहका कर्मचारीले दुईदेखि सात दिनसम्मको तलब कट्टा गरी सहयोग गरेका हुन्।
कञ्चनपुर उद्योग वाणिज्य संघले पाँच लाख २५ हजार रुपैयाँ तथा लिटिल बुद्ध एकेडेमीले आठ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्। उदयदेव सहकारीले दुई लाख ११ हजार, मेघा सहकारीले एक लाख एक हजार र अन्य सहकारी संस्थाले ९८ हजार रुपैयाँ प्रदान गरेका छन्।
निड्स नेपालले एक लाख २५ हजार, समाज कल्याण संघले एक लाख ८६ हजार, भीमदत्त नगरपालिका वडा नम्बर १८ ले एक लाख ११ हजार तथा सिर्जनशील सहकारीले एक लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन्। भीमदत्त नगरपालिका वडा नम्बर ४ बाट ५१ हजार र वडा नम्बर १७ बाट ५० हजार रुपैयाँ राहत कोषमा जम्मा गरिएको छ।
होटेल चेतनले ५१ हजार, आध्या स्कुलले ५५ हजार, मर्निङ ग्लोरी स्कुलले ५१ हजार र होटेल ओपेराले एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।





