केरुङमा अड्किएका १२५ नेपाली आज स्वदेश फर्कँदै

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी बाढीका कारण चीनको केरुङमा अड्किएका १२५ जना नेपाली आज स्वदेश फर्कने भएका छन्। चिनियाँ पक्षले आवश्यक समन्वय गरी उनीहरूलाई नेपाल फर्काउन लागेको हो।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाल चीन सीमाक्षेत्रको सडक तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेका कारण केरुङमा रहेका नेपाली स्वदेश फर्कन सकेका थिएनन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार सम्बन्धित दूतावासको समन्वयमा १२५ जना नेपालीलाई आज स्वदेश फर्काउने व्यवस्था मिलाइएको छ।
बाढीपछि केरुङमा चालक, व्यवसायी, मजदुरलगायत विभिन्न कामका सिलसिलामा पुगेका नेपाली रोकिएका थिए। सीमा क्षेत्रमा आवागमन प्रभावित भएपछि उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन नेपाल र चीनका सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।





