१८ भाद्र २०८३, बिहीबार

कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिरै सिलिन्डर भरेर काठमाडौं पठाउन थालियो

ड्रागन मिडिया सम्वाददाता

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिन उपत्यकाबाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रकमार्फत काठमाडौं पठाउन थालिएको छ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत उपत्यका प्रवेश गर्न नसकेपछि नेपाल आयल निगमले उपत्यका र आसपासका १६ ग्यास उद्योगलाई बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका उद्योगमा सिलिन्डर भर्न अनुमति दिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले जानकारी दिए। बाहिरका प्लान्टमा भरिएका सिलिन्डर त्रिभुवन राजपथ हुँदै उपत्यका पठाउन थालिएको छ।

संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार धादिङको नौबिसेस्थित श्री ग्यासका एक हजार ५०० सिलिन्डर चितवनको बाबा ग्यासमा भरेर पठाइएको छ। चितवनकै साईबाबा ग्यासले आफ्नै ९०० सिलिन्डर तथा नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका एक हजार २०० सिलिन्डर भरेर काठमाडौं पठाएको छ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगञ्जस्थित मनोज ग्यासमा तथा काठमाडौंका एभरेष्ट र सुगम ग्यास हेटौँडाको साहारा ग्यासमा भरेर पठाइएको छ। बनेपाका सगरमाथा, लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले पनि उपत्यकाबाहिरका प्लान्टमा सिलिन्डर भरेर आपूर्ति सहज बनाइरहेका छन्।

भारतबाट हुने एलपी ग्यास आयात भने नघटेको संघले जनाएको छ। गत महिना भारतबाट हालसम्मकै उच्च ६० हजार २०० मेट्रिकटन ग्यास आयात भएको र अहिले पनि सोही अनुपातमा आयात भइरहेको कालाखेतीले बताए।

उपत्यका र आसपासका जिल्लामा देशभर खपत हुने एलपी ग्यासको करिब ४० प्रतिशत खपत हुने गर्छ। वैकल्पिक व्यवस्थाबाट सिलिन्डर आपूर्ति भइरहेकाले काठमाडौं उपत्यकामा तत्काल ग्यास अभाव नहुने संघको दाबी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button