१८ भाद्र २०८३, बिहीबार

काँकडभिट्टा सीमा नाकामा गोप्रो क्यामेराबाट निगरानी सुरु

ड्रागन मिडिया सम्वाददाता

नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च प्रविधिको गोप्रो क्यामेराबाट निगरानी सुरु गरेको छ। सीमा सुरक्षा, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले यो प्रविधि प्रयोगमा ल्याएको हो।

सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार सीमा क्षेत्रमा अवाञ्छित वा आपराधिक घटना भएमा प्रत्यक्ष दृश्य प्रमाण सङ्कलन गर्न गोप्रो क्यामेरा उपयोगी हुनेछ। यसबाट घटनाको अनुसन्धानलाई थप पारदर्शी, तथ्यपरक र वस्तुनिष्ठ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाल गणले दुई थान गोप्रो क्यामेरा सञ्चालनमा ल्याएको छ। सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी निकासी तथा अन्य सीमा अपराध नियन्त्रणमा यो प्रविधिले महत्त्वपूर्ण सहयोग पुर्‍याउने सशस्त्र प्रहरीको विश्वास छ।

सशस्त्र प्रहरीले प्रविधिमैत्री निगरानीसँगै सीमा क्षेत्रमा आफ्नो सक्रिय परिचालनलाई पनि निरन्तरता दिएको जनाएको छ। स्थानीयवासीले समेत सीमाक्षेत्रको शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई सहयोग गर्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button