एसिसी प्रिमियर कप : आयोजक मलेसियासँग भिड्दै नेपाल

ड्रागन मिडिया सम्वाददाता
एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले आज आफ्नो दोस्रो खेल आयोजक मलेसियासँग खेल्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम क्रिकेट ओभलमा हुने ५० ओभरको खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुने तालिका छ।
प्रतियोगितामा विजयी सुरुवात गरेको नेपाल उच्च मनोबलका साथ मलेसियाविरुद्ध मैदानमा उत्रनेछ। नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो।
सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित नेपाल प्रतियोगितामा सहभागी भएको हो। प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा स्थान सुरक्षित गर्नेछ।
१० टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान, कतार र सिङ्गापुर छन्।
समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालका लागि मलेसियाविरुद्धको खेल समूह चरणमा आफ्नो स्थिति बलियो बनाउने दृष्टिले महत्वपूर्ण हुनेछ।





