१८ भाद्र २०८३, बिहीबार

पश्चिम नेपाल बस व्यवसायीद्वारा विपद राहत कोषमा १० लाखभन्दा बढी सहयोग

ड्रागन मिडिया सम्वाददाता

पश्चिम नेपाल बस व्यवसायी प्रालिले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख एक हजार १११ रुपैयाँ सहयोग गरेको छ।

प्रालिका अध्यक्ष दधीराम खरेलले बिहीबार उक्त रकमको चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतममार्फत हस्तान्तरण गरेका हुन्।

अध्यक्ष खरेलले विनाशकारी बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित नागरिकलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बताए। उनले विपदको समयमा प्रभावित नागरिकको साथमा उभिनु यातायात व्यवसायीको सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गरे।

“विपद कसैको व्यक्तिगत समस्या मात्र होइन, यो समग्र समाजको साझा पीडा हो। यस्तो कठिन समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय र सामाजिक दायित्व हो,” खरेलले भने।

प्रालिले यातायात व्यवसायी तथा मजदुर परिवारको तर्फबाट राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको जनाएको छ। सार्वजनिक यातायात सञ्चालनसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको संस्थाले प्राकृतिक विपद तथा अन्य संकटका समयमा सहयोग गर्ने परम्परालाई निरन्तरता दिएको बताएको छ।

प्रालिले बाढी तथा पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता व्यक्तिहरूको शीघ्र खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button