१८ भाद्र २०८३, बिहीबार

पाँच वर्ष पुग्न लाग्दा पनि साल्मा खोलाको पुल अलपत्र, ठेक्का तोडिएपछि विवाद अदालतमा

ड्रागन मिडिया सम्वाददाता

छेडाचाँदे–जुम्ला सडकखण्डअन्तर्गत जाजरकोटको साल्मा खोला (खारा) मा निर्माणाधीन पक्की पुल सम्झौता भएको पाँच वर्ष पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन। छेडागाड नगरपालिका वडा नम्बर १ र ४ जोड्ने पुल निर्माण व्यवसायीले दुईवटा पिलर बनाएर काम छाडेपछि लामो समयदेखि अलपत्र परेको हो।

पूर्वाधार विकास कार्यालय जाजरकोटले पुल निर्माणका लागि नेपाल मेघा सिस्ने जेभी, नेपालगन्जसँग २०७८ असोज २९ गते ठेक्का सम्झौता गरेको थियो। चार करोड ८८ लाख एक हजार रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने पुल २०८० माघ २८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। निर्धारित समय सकिएको दुई वर्षभन्दा बढी भइसक्दा पनि पुलको मुख्य संरचना निर्माण हुन सकेको छैन।

निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिए पनि अपेक्षित प्रगति नभएपछि पूर्वाधार विकास कार्यालयले ठेक्का तोडेको छ। त्यसपछि निर्माण कम्पनी अदालत गएको कार्यालयले जनाएको छ। निर्माण व्यवसायी पक्षले भने म्याद थप नगरिएको र बैंक ग्यारेन्टीसम्बन्धी कारवाही गरिएको भन्दै कानुनी उपचार खोजेको जनाएको छ।

पुल नबन्दा छेडागाड, जुनीचाँदे र कुशेका विभिन्न क्षेत्रबाट नेपालगन्ज, सुर्खेत तथा काठमाडौं आवतजावत गर्ने यात्रुले साल्मा खोला पार गर्दा जोखिम मोल्नुपरेको छ। सामान्य अवस्थामा सवारीसाधन खोलाबाटै वारपार गरे पनि बर्खायाममा पानीको बहाव बढेपछि यातायात घण्टौँसम्म अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ।

स्थानीय प्रकाश केसीका अनुसार बर्खामा खोला बढ्दा बिरामी, बालबालिका, ज्येष्ठ नागरिक तथा दैनिक उपभोग्य सामग्री बोकेर यात्रा गर्नेहरू सबैभन्दा बढी प्रभावित हुने गरेका छन्। यसअघि छेडागाड नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट साल्मा खोलामा कजवे निर्माण गरे पनि वर्षायामको भेलले बगाएको थियो।

साल्मा खोलाको पुलले मध्यपहाडी लोकमार्ग र भेरी करिडोरसँग जोडिने क्षेत्रको आवागमनलाई समेत सहज बनाउने अपेक्षा गरिएको थियो। तर वर्षौँसम्म निर्माण अधुरै रहँदा स्थानीयले हरेक बर्खामा उही जोखिम बेहोर्नुपरेको छ। स्थानीयवासीले कानुनी विवाद छिटो टुङ्ग्याएर पुल निर्माण पुनः सुरु गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button