१८ भाद्र २०८३, बिहीबार

बागलुङमा डेंगी संक्रमण तीव्र, डेढ महिनामै एक हजारभन्दा बढी संक्रमित

ड्रागन मिडिया सम्वाददाता

बागलुङमा डेंगी संक्रमण तीव्र रूपमा फैलिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार गत साउन १ गतेदेखि करिब डेढ महिनाको अवधिमा जिल्लामा एक हजार ११ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

धौलागिरी प्रादेशिक अस्पतालमा मात्रै ९३५ जना डेंगी संक्रमित उपचारका लागि पुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले जानकारी दिए। अन्य नगर अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गराएका कतिपय बिरामीको तथ्यांक अझै समेटिन बाँकी रहेकाले संक्रमितको वास्तविक संख्या थप हुन सक्ने बताइएको छ।

अस्पतालमा पछिल्लो समय ज्वरोका बिरामीको चाप अत्यधिक बढेको छ। संक्रमण तीव्र बनेपछि अस्पतालले परीक्षणका लागि आवश्यक किटको व्यवस्था बढाएको छ भने थप एक हजार किट ल्याएर परीक्षण विस्तार गर्ने तयारी गरेको छ।

निरन्तर वर्षा, घर तथा बजार क्षेत्रमा पानी जम्ने अवस्था र सरसफाइमा कमी हुँदा डेंगी सार्ने एडिस जातको लामखुट्टेको प्रजनन बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालयकी मलेरिया इन्स्पेक्टर कमला थापाका अनुसार हालसम्म प्राप्त तथ्यांकमा बागलुङमा संक्रमण अत्यधिक देखिएको छ।

बागलुङ नगरपालिका र प्रदेश जनस्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियानसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। विशेषगरी टायर पसल, मोटर ग्यारेज, पानी जम्ने भाँडा तथा खुला स्थानमा लामखुट्टे प्रजनन हुन सक्ने भएकाले पानी जम्न नदिन, घर वरपर सरसफाइ गर्न र शरीर ढाक्ने कपडा लगाउन आग्रह गरिएको छ।

डेंगीका बिरामीमा उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, अत्यधिक थकान र कम्पनजस्ता लक्षण देखिन सक्छन्। स्वास्थ्यकर्मीहरूले यस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन्।

यस वर्ष बागलुङमा स्क्रब टाइफसका बिरामी पनि उल्लेख्य रूपमा बढेका छन्। गत वर्ष पाँच जनामा मात्रै देखिएको स्क्रब टाइफस यस वर्ष ५५ जनामा पुष्टि भएको छ। तीमध्ये चार जनालाई थप उपचारका लागि पोखरा पठाइएको र अन्यको धौलागिरी प्रादेशिक अस्पतालमै उपचार गरिएको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button