रसुवा विपदका मृतकको शोकमा भदौ २२ गते राष्ट्रिय शोक, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा

ड्रागन मिडिया सम्वाददाता
सरकारले रसुवा विपदमा ज्यान गुमाएकाहरूको सम्झनामा भदौ २२ गते सोमबार देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
मन्त्रीपरिषदको निर्णयअनुसार राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। तर उक्त दिन सार्वजनिक बिदा भने दिइने छैन।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रीपरिषदका निर्णयबारे जानकारी दिँदै रसुवा विपदमा ज्यान गुमाएकाप्रति सम्मान व्यक्त गर्न राष्ट्रिय शोक मनाउने निर्णय गरिएको बताए।
यसैगरी सरकारले भदौ २३ गते मंगलबार ‘जेनजी सहिद दिवस’ मनाउँदै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यसअघि प्राप्त विवरणमा भदौ २२ गतेलाई मंगलबार उल्लेख गरिएको थियो। पात्रोअनुसार भदौ २२ गते सोमबार र भदौ २३ गते मंगलबार पर्ने भएकाले समाचारमा सोहीअनुसार सच्याइएको छ।





