भोटेकोशी उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता, मृत्यु भए परिवारलाई १० लाख राहत

ड्रागन मिडिया सम्वाददाता
सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले विपद प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि विशेष राहत तथा सुविधाको व्यवस्था गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारी घाइते भएमा उनीहरूको निःशुल्क उपचार गरिनेछ।
उद्धार कार्यका क्रममा कुनै सुरक्षाकर्मी वा कर्मचारीको मृत्यु भएमा सम्बन्धित परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइने निर्णय पनि सरकारले गरेको छ।
सरकारले कठिन र उच्च जोखिमयुक्त अवस्थामा खोज तथा उद्धारमा परिचालित जनशक्तिको सुरक्षा, उपचार र परिवारको सामाजिक सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरेको जनाएको छ।





