भोटेकोशी बाढी प्रभावित व्यवसायका लागि ‘एकीकृत व्यावसायिक पुनर्स्थापना योजना’ लागू गर्ने सरकारको निर्णय

ड्रागन मिडिया सम्वाददाता
सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल पुनः सञ्चालनमा ल्याउन ‘एकीकृत व्यावसायिक पुनर्स्थापना योजना’ लागू गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले उक्त योजनाअन्तर्गत बाढी प्रभावित व्यवसायी तथा व्यक्तिलाई राहत, कर तथा विभिन्न महसुलमा छुटसहित विशेष सहुलियत उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बाढीका कारण प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई शीघ्र पुनः सञ्चालनमा ल्याउन राहत तथा वित्तीय सहुलियतलाई एकीकृत रूपमा कार्यान्वयन गरिनेछ।
योजनाअन्तर्गत प्रभावित व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउनुका साथै कर तथा महसुलमा छुट दिने व्यवस्था गरिनेछ। सहुलियतको विस्तृत मापदण्ड, अवधि र कार्यान्वयन प्रक्रिया भने सम्बन्धित निकायले तय गर्ने अपेक्षा गरिएको छ।
भोटेकोशी बाढीका कारण रसुवामा व्यापारिक प्रतिष्ठान, उद्योग, होटल, यातायात तथा अन्य व्यावसायिक गतिविधिमा ठूलो क्षति पुगेपछि सरकारले आर्थिक गतिविधि पुनःस्थापना गर्न विशेष योजना अघि सारेको हो।





