१८ भाद्र २०८३, बिहीबार

औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ड्रागन मिडिया सम्वाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो। आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाले सञ्चालन गरेको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमअन्तर्गत माछाका भूरा, दानालगायत सामग्री खरिद तथा वितरण गर्दा झुट्टा बिल भरपाई पेश गरी बढी भुक्तानी लिएको आरोप लगाइएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा दायर भएकाहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैत, पशु शाखा प्रमुख रमेशनारायण शर्मा, लेखापाल आशिषकुमार कामती र औरही गाउँपालिका वडा नम्बर ४ स्थित प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादव रहेका छन्।

आयोगले उनीहरूले मिलेमतो गरी वास्तविकभन्दा बढी खर्च देखाएर सरकारी रकम हिनामिना गरेको आरोप लगाएको छ।

चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आठ लाख दुई हजार ८७८ रुपैयाँ बिगो कायम गरी सोहीअनुसार सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button