१८ भाद्र २०८३, बिहीबार

भोटेकोशी विपदपछि लाङटाङको सडक सम्पर्क विच्छेद, आवतजावतमा हेलिकप्टरकै भर

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी विपदपछि रसुवाको प्रमुख पर्यटकीय क्षेत्र लाङटाङ सडक सञ्जालबाट विच्छेद भएको छ। बाढीले लाङटाङमा प्रत्यक्ष ठूलो क्षति नगरे पनि स्याफ्रुबेंसी र धुन्चे जोड्ने सडक तथा पुल बगाएपछि त्यहाँ पुग्न र बाहिरिन तत्कालका लागि हेलिकप्टरकै भर पर्नुपरेको छ।

गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य सान्डु चुसाङका अनुसार लाङटाङमा अझै १५ देखि २० जना बाहिरका नागरिक हेलिकप्टरको प्रतीक्षामा छन्। पैदलमार्गबाट धुन्चे पुग्ने विकल्प रहे पनि बर्खाका कारण बाटो धेरै ठाउँमा बिग्रिएको र यात्रा कठिन बनेको उनले बताएका छन्।

लाङटाङमा तत्कालका लागि करिब एकदेखि डेढ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको बताइएको छ। तर सडक र पुल लामो समयसम्म पुनःस्थापना हुन नसके खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या उत्पन्न हुन सक्ने स्थानीयको चिन्ता छ।

लाङटाङमा ११६ घरपरिवार र करिब ४५० जनसंख्या रहेको वडा कार्यालयले जनाएको छ। लाङटाङ उपत्यका, लिरुङ हिमाल, याला पिक र क्यान्जिन उपत्यकालगायत क्षेत्रमा वार्षिक २५ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्।

लाङटाङ स्वास्थ्यचौकीमा हाललाई आवश्यक औषधि मौज्दात रहे पनि सडक अवरुद्ध रहिरहे दीर्घकालीन आपूर्तिमा समस्या पर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। गम्भीर बिरामीलाई धुन्चे वा काठमाडौं लैजानसमेत अहिले हेलिकप्टरबाहेक तत्काल सहज विकल्प नरहेको स्वास्थ्यचौकीका प्रमुख लाक्पा छिरिङ तामाङले बताएका छन्।

बाढीले रसुवाका धेरै सडक, पुल र सम्पर्क सञ्जाल ध्वस्त पारेपछि राहत तथा उद्धार कार्य पनि प्रभावित भएको छ। काठमाडौंलगायत क्षेत्रबाट वैकल्पिक सडक हुँदै धुन्चेसम्म राहत सामग्री पुर्‍याउने प्रयास भइरहेको छ भने हेलिकप्टरबाट पनि सामग्री ढुवानी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत केही संरचनामा क्षति पुगेको छ। निकुञ्जका अनुसार टिमुरे, मैलुङ र स्याफ्रुबेंसी क्षेत्रका सातवटा पोस्ट बगाएका छन् भने तीन कर्मचारी सम्पर्कविहीन छन्। धुन्चे हुँदै लाङटाङ पुग्ने नियमित मार्ग असहज भएपछि सिन्धुपाल्चोकतर्फको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने अवस्था रहेको जनाइएको छ।

स्थानीय जनप्रतिनिधि तथा सांसदहरूले राहत र उद्धारसँगै सडक तथा पुल पुनःस्थापनालाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्। सडक सम्पर्क लामो समयसम्म नजोडिए लाङटाङसहित रसुवाका दुर्गम बस्तीमा खाद्यान्न, इन्धन, औषधि र अन्य अत्यावश्यक सामग्रीको अभाव गहिरिन सक्ने चेतावनी उनीहरूले दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button