भोटेकोशी विपदमा चीनको सहयोग निरन्तर, तेस्रो खेप राहतसहित १० फरेन्सिक विज्ञ काठमाडौं आइपुगे

ड्रागन मिडिया समाचार कक्ष
विनाशकारी भोटेकोशी विपदपछि नेपालको खोज, उद्धार, राहत तथा मृतक पहिचान प्रक्रियामा सहयोग गरिरहेको चीनले तेस्रो खेपको आपतकालीन राहत सामग्री नेपाल पठाएको छ। चीनको वाई २०ए ठूलो सैन्य यातायात विमानमार्फत राहत सामग्रीसँगै मृतकको पहिचानमा सहयोग गर्न १० जना चिनियाँ फरेन्सिक विज्ञ काठमाडौं आइपुगेका छन्।
काठमाडौंस्थित चिनियाँ दूतावासले “चीनको सहायता आइपुगेको छ, चीनको सहयोग जारी छ” भन्दै तेस्रो खेपको आपतकालीन राहत सामग्री नेपाल आइपुगेको जानकारी दिएको हो। विपदमा ठूलो संख्यामा मृतकको पहिचान चुनौतीपूर्ण बनिरहेका बेला आएको चिनियाँ फरेन्सिक टोलीले नेपाली निकायसँग समन्वय गरी पीडितको पहिचान प्रक्रियामा प्राविधिक सहयोग गर्नेछ।


पछिल्लो विपदपछि चीनले नेपाललाई राहत सामग्री उपलब्ध गराउने कार्यलाई चरणबद्ध रूपमा निरन्तरता दिएको छ। प्रारम्भिक चरणदेखि नै चीनले राहत सामग्रीसँगै खोज तथा उद्धारमा आवश्यक विशेषज्ञ जनशक्ति, सुरुङ उद्धार विज्ञ, डीएनए पहिचानसम्बन्धी विशेषज्ञता तथा विभिन्न प्राविधिक उपकरण उपलब्ध गराउँदै आएको छ। अहिले थप १० जना फरेन्सिक विज्ञ आइपुगेसँगै मृतक पहिचान तथा परिवारसम्म शव हस्तान्तरण गर्ने संवेदनशील प्रक्रियामा नेपाललाई थप विशेषज्ञ सहयोग प्राप्त भएको छ।
चिनियाँ सहायता केवल सामग्रीमा सीमित नभई नेपालको तत्काल आवश्यकताअनुसार प्राविधिक क्षमतासँग जोडिएको देखिएको छ। विपदको प्रारम्भिक चरणमा खोज तथा उद्धार प्रमुख आवश्यकता रहेकोमा त्यसपछि डीएनए परीक्षण, मृतक पहिचान, पानी शुद्धीकरण, आपतकालीन सञ्चार तथा प्रभावित क्षेत्रमा आधारभूत सेवा सञ्चालनका आवश्यकतालाई ध्यानमा राखेर चीनले सहयोग विस्तार गर्दै आएको छ।

ठूलो क्षमताको वाई २० श्रृंखलाका विमान प्रयोग गरी चीनले छोटो समयमा ठूलो परिमाणमा राहत सामग्री नेपाल ल्याइरहेको छ। बिहीबार आइपुगेको तेस्रो खेपलाई पनि चीनले नेपालको वास्तविक आवश्यकता र विपद प्रतिकार्यको बदलिँदो चरणअनुसार उपलब्ध गराइएको सहयोगका रूपमा प्रस्तुत गरेको छ।
भोटेकोशी विपद नेपाल र चीन दुवैतर्फको सीमाक्षेत्रमा परेको ठूलो मानवीय संकट हो। चीन आफैं केरुङ क्षेत्रमा व्यापक खोज तथा उद्धारमा जुटिरहेका बेला नेपालतर्फ समेत जनशक्ति, सामग्री र प्राविधिक क्षमता परिचालन गर्दै आएको छ। यस्तो अवस्थामा आफ्नै भूभागमा ठूलो उद्धार अभियान चलाउँदाचलाउँदै नेपाललाई निरन्तर सहायता उपलब्ध गराउनुलाई दुई छिमेकीबीच विपदको कठिन घडीमा देखिएको व्यावहारिक सहकार्यका रूपमा हेरिएको छ।
नेपालमा ठूलो संख्यामा शव पहिचान गर्न बाँकी रहेको अवस्थामा फरेन्सिक विशेषज्ञताको आवश्यकता विशेष रूपमा बढेको छ। शवको अवस्था, ठूलो संख्यामा प्राप्त नमुना र आफन्तसँग डीएनए मिलान गर्नुपर्ने प्रक्रियाका कारण मृतक पहिचान जटिल र समय लाग्ने काम हो। चिनियाँ विशेषज्ञको सहभागिताले नेपाली फरेन्सिक तथा स्वास्थ्य निकायको विद्यमान क्षमतालाई सहयोग गर्दै पहिचान प्रक्रियालाई व्यवस्थित बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
चीनले भोटेकोशी विपदपछि उपलब्ध गराइरहेको सहयोगले नेपाल चीन सम्बन्धको मानवीय पक्षलाई समेत उजागर गरेको छ। विपदका बेला तत्काल सामग्री पठाउने मात्र नभई आवश्यकताअनुसार विशेषज्ञ जनशक्ति र प्राविधिक क्षमता थप्दै जाने चिनियाँ पहललाई दीर्घकालीन विपद सहकार्यको आधारका रूपमा पनि विकास गर्न सकिने देखिएको छ।
पछिल्लो घटनाले भविष्यमा नेपाल र चीनबीच हिमाली विपदको पूर्वसूचना, मौसम तथा जलसम्बन्धी सूचना आदानप्रदान, विशेष उद्धार टोलीको संयुक्त क्षमता विकास, फरेन्सिक सहयोग र आपतकालीन सामग्री व्यवस्थापनलाई थप संस्थागत गर्नुपर्ने आवश्यकता पनि देखाएको छ।
भोटेकोशीको पीडाबीच काठमाडौं विमानस्थलमा चीनको वाई २०ए विमानबाट झारिएका ‘चाइना एड’ लेखिएका राहत सामग्री र त्यससँगै आएका विशेषज्ञ टोलीले एउटा स्पष्ट सन्देश दिएका छन्। कठिन विपदको समयमा छिमेकीको सहयोग केवल कूटनीतिक अभिव्यक्तिमा सीमित नरही राहत सामग्री, विशेषज्ञता र प्रत्यक्ष मानवीय सहकार्यका रूपमा पनि देखिन सक्छ। चीनले नेपाललाई दिएको पछिल्लो सहायता त्यही निरन्तर सहयोगको अर्को चरण बनेको छ।





