१८ भाद्र २०८३, बिहीबार

एससीओ बिश्केक शिखर सम्मेलनले क्षेत्रीय विकासमा नयाँ ऊर्जा थप्यो : चिनियाँ विदेशमन्त्री वाङ यी

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ विदेशमन्त्री वाङ यीले शाङ्हाई सहयोग संगठन (एससीओ) को बिश्केक शिखर सम्मेलनले क्षेत्रीय विकासमा नयाँ ऊर्जा थप्नुका साथै विश्व बहुध्रुवीयता र विश्व शासन सुधारका लागि थप प्रेरणा दिएको बताएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको एससीओ बिश्केक शिखर सम्मेलनमा सहभागिता तथा किर्गिस्तान र मिस्रको राजकीय भ्रमण सम्पन्न भएपछि सञ्चारकर्मीलाई जानकारी दिँदै वाङले सबै पक्षको संयुक्त प्रयासबाट सम्मेलनले संगठनको जीवन्तता र कार्यक्षमता पुनः प्रमाणित गरेको बताए।

बिश्केक शिखर सम्मेलनमा राष्ट्रपति सीले एससीओको सबैभन्दा महत्वपूर्ण उपलब्धि विश्वकै सबैभन्दा ठूलो भौगोलिक क्षेत्र, विशाल जनसंख्या र ठूलो विकास सम्भावना समेट्ने नयाँ प्रकारको क्षेत्रीय सहकार्य संगठनका रूपमा क्रमशः रूपान्तरण हुनु रहेको बताएका थिए।

सीका अनुसार एससीओको सबैभन्दा महत्वपूर्ण वैचारिक सम्पत्ति ‘शाङ्हाई स्पिरिट’ हो, जसले पारस्परिक विश्वास, पारस्परिक लाभ, समानता, परामर्श, सभ्यताको विविधताप्रति सम्मान र साझा विकासलाई प्राथमिकता दिन्छ।

उनले संगठनले गठबन्धन नबनाउने, टकराव नगर्ने र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सहअस्तित्वको मार्ग विकास गरेको उल्लेख गर्दै यही अनुभवले क्षेत्रीय मुलुकलाई साझा घर निर्माणतर्फ जोडेको बताएका थिए।

राष्ट्रपति सीले शिखर सम्मेलनमा चार बुँदे प्रस्ताव पनि अघि सारे। त्यसमा विकासलाई पहिलो प्राथमिकता दिँदै साझा समृद्धिको सम्भावना विस्तार गर्ने, सुरक्षालाई प्रमुख लक्ष्यका रूपमा राख्दै साझा सुरक्षा वातावरण निर्माण गर्ने, जनकेन्द्रित दृष्टिकोणबाट दीर्घकालीन मित्रताको आधार बलियो बनाउने तथा संवाद र परामर्शमार्फत थप न्यायपूर्ण र व्यवस्थित विश्व शासन निर्माण गर्ने विषय समेटिएका छन्।

वाङ यीले गत वर्षको एससीओ तियानजिन शिखर सम्मेलनमा आगामी एक दशकका लागि संगठनको विकास खाका तयार गरिएको स्मरण गर्दै त्यसका निर्णय तीव्र रूपमा कार्यान्वयन भइरहेको बताए।

उनका अनुसार यस वर्षको बिश्केक शिखर सम्मेलनसम्म आइपुग्दा तियानजिनमा तयार गरिएको रणनीतिक खाका क्रमशः व्यवहारमा रूपान्तरण भइरहेको छ। संगठनको संरचना थप व्यवस्थित, सञ्चालन थप प्रभावकारी र सदस्य राष्ट्रबीचको सहकार्य थप परिणाममुखी बन्दै गएको उनको भनाइ छ।

चीनले एससीओलाई क्षेत्रीय स्थिरता, साझा विकास, सुरक्षा सहकार्य र बहुध्रुवीय विश्व व्यवस्थाको महत्वपूर्ण संस्थागत आधारका रूपमा अघि बढाउँदै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button