१८ भाद्र २०८३, बिहीबार

इरानसम्बन्धी प्रतिबन्ध तत्काल हटाउन अमेरिकालाई चीनको आग्रह

ड्रागन मिडिया समाचार कक्ष

चीनले इरानसँग सम्बन्धित गतिविधिको आरोपमा चिनियाँ कम्पनी तथा नागरिकमाथि अमेरिकाले लगाएको प्रतिबन्ध तत्काल हटाउन आग्रह गरेको छ।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय कानुनको आधार वा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अधिकारबिना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले निरन्तर विरोध गर्दै आएको स्पष्ट पारेको हो।

मन्त्रालयकी प्रवक्ता ह्वाङ लिङका अनुसार चीनले पटकपटक आफ्नो धारणा स्पष्ट पारे पनि अमेरिकाले कथित इरानसम्बन्धी सम्बन्धको आधारमा चिनियाँ कम्पनी र नागरिकमाथि विभिन्न चरणमा प्रतिबन्ध लगाउँदै आएको छ। उनले यस्तो कदमप्रति चीनले कडा असन्तुष्टि र दृढ विरोध जनाएको बताइन्।

ह्वाङले अमेरिकी एकपक्षीय प्रतिबन्धले सम्बन्धित देशहरूबीच हुने सामान्य आर्थिक तथा व्यापारिक गतिविधिमा अनुचित हस्तक्षेप गर्ने र विश्वव्यापी ऊर्जा सुरक्षा तथा स्थिर आपूर्तिमा समेत गम्भीर असर पार्ने बताइन्।

चीनले अमेरिकालाई आफ्नो गलत अभ्यास तत्काल सच्याउन र चिनियाँ कम्पनी तथा नागरिकमाथि लगाइएका इरानसम्बन्धी प्रतिबन्ध हटाउन आग्रह गरेको छ।

वाणिज्य मन्त्रालयले चिनियाँ उद्यम र नागरिकका वैध अधिकार तथा हितको दृढतापूर्वक संरक्षण गरिने पनि जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button