१९ भाद्र २०८३, शुक्रबार

त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र जीवित मानिसको आवाज, उद्धारमा नयाँ आशा

ड्रागन मिडिया सम्वाददाता

रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको खोजी तथा उद्धार कार्यले नयाँ आशा जगाएको छ। सुरुङभित्र थुनिएका व्यक्तिहरूको अवस्था पत्ता लगाउन निरन्तर खटिएको उद्धार टोलीले भित्रबाट जीवित मानिसको आवाज सुनेको पुष्टि गरेको छ।

उद्धार स्थलमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिक टोलीका अनुसार सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज स्पष्ट सुनिएको छ। उद्धारकर्मीहरूले बाहिरबाट ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिएपछि भित्र फसेका व्यक्तिहरूले ‘हुन्छ’ भनेर सकारात्मक प्रतिक्रिया फर्काएका छन्।

सुरुङभित्रबाट मानवीय प्रतिक्रिया प्राप्त भएसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञहरूको संयुक्त टोलीले उद्धार कार्यलाई अझ तीव्र र सतर्कतापूर्वक अघि बढाएको छ।

उद्धार टोलीले अवरुद्ध सुरुङको मुख खुलाउने, भित्र अक्सिजन आपूर्ति सहज बनाउने तथा फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्ने प्रयासलाई उच्च प्राथमिकतामा राखेको छ।

जीवित व्यक्तिको आवाज सुनिएको पुष्टि भएपछि उद्धार कार्यमा संलग्न टोली र पीडित परिवारमा उनीहरूलाई सकुशल बाहिर निकाल्न सकिने आशा बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button