सशस्त्र प्रहरी बलले बाढीपहिरो प्रभावितका लागि १५ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने

ड्रागन मिडिया सम्वाददाता
सशस्त्र प्रहरी बल नेपालले बाढीपहिरो प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
संगठनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको निश्चित दिन बराबरको तलब कट्टा गरी उक्त रकम कोषमा दाखिला गरिनेछ। तर बिओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रहँदा बाढीबाट ज्यान जोगाउन सफल भएका सुरक्षाकर्मीहरूको तलब भने कट्टा गरिने छैन।
निर्णयअनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिन, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरूले १० दिन, जुनियर अधिकृतहरूले ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन तथा सशस्त्र प्रहरी परिचरहरूले ३ दिन बराबरको तलब सहयोग गर्नेछन्।
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल कुल २५ लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। यसमा राष्ट्रसेवकहरूको तर्फबाट १५ लाख, राहतसम्बन्धी कार्यविधि २०७९ बमोजिम ५ लाख र विपद प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड २०८१ बमोजिम ५ लाख रुपैयाँ समावेश छ।
यसका अतिरिक्त मृतक कर्मचारीले कल्याण कोषबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरिनेछ भने उनीहरूका सन्ततिलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययन गर्न पूर्ण शैक्षिक शुल्क छुट दिइनेछ।
मृतक कर्मचारीको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने तथा उनीहरूका परिवारका एकएक जना सदस्यलाई सीपमूलक तालिम उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ।
बाढीमा ज्यान जोगाउन सफल पाँच जना सुरक्षाकर्मीलाई जनही ५० हजार रुपैयाँ राहत दिइनेछ। साथै, बहालवाला कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ उपलब्ध गराइनेछ।
संगठनले अवकाश प्राप्त कर्मचारीहरूका लागि पनि राहत व्यवस्था गरेको छ। बाढीबाट प्रभावित अवकाश प्राप्त कर्मचारीको मृत्यु भएमा वा घरबारविहीन भएमा १ लाख रुपैयाँ तथा घाइते भएका वा भौतिक संरचनामा आंशिक क्षति पुगेकालाई तत्काल ५० हजार रुपैयाँसम्म सहयोग प्रदान गरिनेछ।





