३१ वर्षदेखि अलपत्र सिँचाइ ब्यारेज, किसान अझै डिजेल मोटरको भरमा

ड्रागन मिडिया सम्वाददाता
सर्लाहीको बलरा नगरपालिका र रामनगर गाउँपालिकाको सीमाक्षेत्रमा निर्माण गरिएको सिँचाइ ब्यारेज तीन दशकभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। करिब ६ करोड रुपैयाँ लागतमा निर्माण गरिएको ब्यारेजबाट किसानले अपेक्षित सिँचाइ सुविधा पाउन नसक्दा वर्षाको पानी, पम्पसेट र महँगो डिजेल मोटरमा निर्भर हुनुपरेको छ।
बलरा नगरपालिका १० र रामनगर गाउँपालिका १ को सिमानास्थित सुदामामा एकादशी खोलामा सन् २०५२ सालमा ब्यारेज निर्माण गरिएको थियो। सुदामा, छोटउल, अचलगड, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा र रामनगर बहुअर्वालगायत क्षेत्रका खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्य भए पनि व्यवस्थित नहर नहुँदा आयोजना उपयोगविहीनजस्तै बनेको छ।
स्थानीय किसानका अनुसार वर्षायाममा केही क्षेत्रमा अनियन्त्रित रूपमा पानी पुग्ने गरे पनि अधिकांश किसानले पम्पसेट र विद्युत मोटरबाट खेती गर्दै आएका छन्। वर्षामा खेत जलमग्न हुने र हिउँदमा पानी अभाव हुने समस्याले कृषि उत्पादनमा प्रत्यक्ष असर परेको उनीहरूको गुनासो छ।
रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले ब्यारेजको स्थान र भूगोलका कारण रामनगरतर्फ पानी पुर्याउन कठिन रहेको बताएका छन्। उनका अनुसार सो क्षेत्रका किसानलाई सिँचाइ उपलब्ध गराउन एकादशी खोलाको माथिल्लो भागमा छुट्टै बाँध निर्माण गरिएको छ।
बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले व्यवस्थित नहर निर्माण गर्न सके नगरपालिकाका अधिकांश खेतीयोग्य क्षेत्रमा सिँचाइ पुर्याउन सकिने बताएका छन्। ब्यारेजको स्वामित्व र संरक्षण स्पष्ट नहुँदा संरचना जीर्ण बनेको र नगरपालिकाले सीमित मर्मतसम्भार गरेको उनको भनाइ छ।
ब्यारेज तथा नहर व्यवस्थापनका लागि गत आर्थिक वर्षमा प्रदेश र संघीय सरकारबाट पाँच करोड रुपैयाँ बजेट उपलब्ध भए पनि समयमा काम हुन नसक्दा रकम फिर्ता गएको बताइएको छ। यस वर्ष दुई करोड रुपैयाँको बजेटबाट नहर निर्माणको काम अघि बढाउने तयारी रहेको नगरप्रमुख कुशवाहाले जानकारी दिएका छन्।
स्थानीय किसानले भने राज्यबाट आएको बजेट समयमै प्रयोग नगर्नु र सिँचाइलाई प्राथमिकता नदिइनु दुःखद भएको बताएका छन्। बाह्रै महिना खोला बग्ने क्षेत्रमा समेत महँगो डिजेल मोटर प्रयोग गर्नुपर्ने अवस्था अन्त्य गर्दै ब्यारेज मर्मत, पक्की नहर निर्माण र खेतसम्म नियमित पानी पुर्याउनुपर्ने उनीहरूको माग छ।





