१९ भाद्र २०८३, शुक्रबार

त्रिशूली थ्री ‘ए’ उद्धारस्थलबाट फर्किए रास्वपाका सांसद ढकाल र न्यौपाने

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकाल र श्रीराम न्यौपाने रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यबाट फर्किएका छन्।

रास्वपा सचिवालयको निर्णयअनुसार दुवै सांसद स्थलमार्ग हुँदै काठमाडौं फर्किरहेका छन्। बाढीपछि सुरुङ थुनिएको क्षेत्रमा उनीहरू नेपाली सेनाको हेलिकप्टरमार्फत पुगेका थिए।

इञ्जिनियरसमेत रहेका सांसद ढकालले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको र उद्धार कार्य आशाजनक चरणमा पुगेको बताएका छन्। उनका अनुसार करिब सातदेखि आठ दिन लगाएर २० हजार घनमिटरभन्दा बढी लेदो र ढुंगा हटाइएको छ।

ढकालले सीमित तथा उपलब्ध उपकरणकै प्रयोगबाट कठिन इञ्जिनियरिङ कार्य सम्पन्न गरिएको उल्लेख गर्दै अब प्रत्यक्ष उद्धारको जिम्मेवारी सुरक्षाकर्मी र उद्धार टोलीमा केन्द्रित भएको बताएका छन्। सुरुङ उत्खनन र ड्रिलिङको अनुभव भएका प्राविधिकलाई समेत परिचालन गरिएको उनको भनाइ छ।

उनले नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीयवासी, नेपाल विद्युत प्राधिकरण तथा नेपाल र विदेशबाट सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। ढकाल पैदल यात्रा गर्दै विदुर पुगेर त्यहाँबाट काठमाडौं फर्किने तयारीमा छन्।

तनहुँबाट निर्वाचित सांसद तथा रास्वपाको ऊर्जा तथा खानी विभाग प्रमुख श्रीराम न्यौपानेले पनि सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको बताएका छन्।

न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्य तीव्र बनाइरहेको छ। उनले बिहीबार साँझसम्म इञ्जिनियरको भूमिकामा उद्धार तथा खोजी कार्यमा स्थलमै संलग्न रहेको बताएका छन्।

रास्वपाको बिहीबार बसेको सचिवालय बैठकले त्रिशूली थ्री ‘ए’ सहित भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको उत्खनन तथा उद्धार कार्यमा सांसदहरूको उपस्थितिले कुनै अवरोध सिर्जना भए उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

सोही निर्णयपछि ढकाल र न्यौपाने उद्धारस्थलबाट फर्किएका हुन्। जाँदा हेलिकप्टर प्रयोग गरेका दुवै सांसदले फर्किने क्रममा भने स्थलमार्ग रोजेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button